कोशी प्रदेशका चार जना सन्तलाई राम मन्दिर प्राणप्रतिष्ठाको निम्तो

  • ब्रह्मदेव यादव, विराटनगर २१५९  पटक हेरिएको

बुधबार, पुष २५, २०८० समय : १३:४८:१८ , ११ महिना अगाडि

भारतको अयोध्या स्थित राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागिता जनाउन कोशी प्रदेशका चार जना सन्तलाई निम्तो आएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्या स्थित राम मन्दिर ट्रष्टले कोशी प्रदेशका चार जना सन्तलाई निम्तो दिएर प्राणप्रतिष्ठामा सहभागिता जनाउन आग्रह गरेका छन् । आगामी माघ ८ गते अर्थात २२ जनवरी २०२४ का दिन भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा निर्माण भएको राम मन्दिरको भव्य प्राणप्रतिष्ठाको कार्यक्रम रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । विराटनगर स्थित श्री लक्ष्मी नारायण मन्दिरका पिठाधीश स्वामी अच्युत प्रपन्नचार्य, सुनसरीको चतरा स्थित जगद्गुरु स्वामी बालसन्त मोहन शरण देवाचार्य, चतराकै जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगीसिद्धबाबा र झापाको शिवसताक्षी धामका पिठाधीश स्वामी नन्दकिशोर भारद्वाज रहेका छन् ।

हिन्दु स्वयम् सवेक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साह, संघका कोशी प्रदेशका संयोजक सियाराम रौनियार, संघका कोशी प्रदेशका प्रचारक मुकेशकुमार साह, संघका सुनसरी दुहबीमा नगर अध्यक्ष रमेशबाबु थापा, संघका सुनसरी जिल्ला व्यवस्थापन समितिका प्रमुख राजकुमार रौनियारको टोलीले सन्तहरूको बसोवास स्थानमै गएर निम्तो गरेका थिए ।

राम मन्दिर ट्रष्ट अयोध्याले नेपालका १४ जना सन्तलाई राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागिता जनाउन निम्तो गरेका छन् । ट्रष्टले विराटनगरका युवा उद्यमी प्रकाश मुन्दडालाई राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागिता जनाउन निम्तो पठाएका छन् । मुन्दडा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष र नेपाल उद्योग परिसंघ (सी.एन.आई.) कोशी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष पदमा कार्यरत रहेका छन् ।