- ब्रह्मदेव यादव, विराटनगर ६१० पटक हेरिएको
मंगलबार, माघ ०२, २०८० समय : १७:५९:५० , ९ महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा १०५ प्रतिशतले राजश्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा ३ अर्ब ३९ करोड रुपैयाँ राजश्व असुली गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व असुली गरेको छ ।
जुन १०५ प्रतिशतले बढि राजश्व असुली हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ४ अर्ब २४ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएकोमा ३ अर्ब ५६ करोड रुपैयाँ राजश्व असुली गरेको छ । जुन ८४ प्रतिशतले राजश्व असुली भएको हो ।
ठुलो कारोबार गर्ने केही कर दाताले मूल्य अभिवृद्धि कर शीर्षकको कर बुझाउन बाँकी रहेकोले पहिलो ६ महिनामा राजश्व असुली प्रतिशत घटेको आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले जानकारी गराउनु भयो । आन्तरिक राजश्व विभागले उद्योगी व्यवसायीलाई पुस मसान्त भित्र आयकर तर्फको पहिलो किस्ता बुझाउने व्यवस्था गरेको छ । तर उद्योगी व्यवसायीले यस वर्ष कारोबारमा आएको ह्रास सँगै बैंक खर्चमा भएको वृद्धिको कारण असुली हुने किस्ता रकम कम दाखिला हुँदा राजश्व असुली प्रतिशत घटेको हो ।
उद्योगी व्यवसायीले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क कर लगायतका अन्य शीर्षकको कर बुझाउन बाँकी रहेकोले ताकेता थालिएको र कर छली भएको सूचनाको आधारमा टिम परिचालन गरेर छानविन तथा अनुसन्धान कार्यलाई द्रुतगतिमा अगाडि बढाइएको प्रमुख कर अधिकृत डा. क्षेत्रीले बताउनु भयो ।