- चिरफार डटकम, विराटनगर ५२० पटक हेरिएको
सोमबार, माघ १५, २०८० समय : १२:४७:४७ , ९ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लामो समयसम्म सत्तामा टिकिरहनका लागि अध्यादेश ल्याएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आरोप लगाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदिय दलको तर्फबाट प्रमुख सचेतक रेवती रमण भण्डारीले सोमबार पत्रकार सम्मेलन गरेर ७ वटा कानुनलाई संसोधन गर्ने गरी ल्याएको अध्यादेश फिर्ता लिन मुख्यमन्त्री कार्कीलाई चेतावनी दिएका छन् ।
लामो समयसम्म मुख्यमन्त्री पदमा टिकिरहनका लागि सत्तागठबन्धन दलका नेतालाई खुशी पर्नेगरी ल्याएको सेवा सुविधा सम्बन्धी अध्यादेशलाई तुरुन्त फिर्ता लिन एमालेले मुख्यमन्त्री कार्कीलाई सुझाव दिएका छन् । नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कोशी प्रदेशका मुख्यमन्त्री बनेका कार्कीको कामप्रति असन्तुष्टि जनाउँदै एमालेले मुख्यमन्त्री कार्कीको विरोध गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले १०० दिन पुरा गरेको छ । मुख्यमन्त्री कार्कीले १०० दिनको उपलब्धि सार्वजनिक गरेको बेला नेकपा एमालेले सरकारको उपलब्धि निराशाजनक रहेको टिप्पणी गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कामको एमालेले विरोध गरेको छ ।
एमाले प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले आफ्नै निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ मा रहेको निजी अस्पताल सँग सेटिङ मिलाएर बालबालिकाको उपचार सेवा प्रवाह गर्न लागेको आरोप लगाएका छन् ।