कांग्रेसको अभियानमा विकास निर्माण र उद्योगी व्यवसायी पलायनको कुरा उठ्यो 

  • ब्रह्मदेव यादव, विराटनगर ५०८  पटक हेरिएको

मंगलबार, माघ १६, २०८० समय : १५:५७:०४ , १० महिना अगाडि

नेपाली कांग्रेसले विराटनगरमा सञ्चालन गरी रहेको समुदायमा कांग्रेस अभियानको दौरान विकास निर्माण र उद्योगी व्यवसायी पलायनको कुरा जोडदार रुपमा उठेको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिले सोमबार विराटनगर वडा नं. ७ स्थित हाटखोलामा आयोजना गरेको अभियानको दौरान पार्टीको कार्यकर्ताहरूले विकास निर्माण र उद्योगी व्यवसायीले चरम आर्थिक मन्दीका कारण विदेश पलायनको विकराल अवस्थालाई जोडदार रुपमा उठान गरेका छन् ।

कार्यक्रममा सहभागी कांग्रेसका बरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाले ३ करोड जनसंख्या भएको नेपालमा १ करोड जनसंख्या विदेश पलायन भई सकेको अवस्थामा विश्व विद्यालय र कलेजले प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थी भर्ना पाउन छोडेको बताए ।

नेपाली कांग्रेस विराटनगर–७ का सभापति अशोक बिष्टको अध्यक्षतामा भएको समुदायमा कांग्रेस अभियान अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला, नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सचिव जितेन्द्र गोल्छा, नेपाली कांग्रेस मोरङ जिल्ला कमिटी सदस्य मणिराम कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दिपक चापागाईं लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कांग्रेस कार्यकर्ता सीता दाहाल, सावित्री ढकाल, मिलन नौलखाले सिंघिया खोला तटबन्धन नभए कांग्रेसलाई भोट नदिने आवाज उठान गरेका थिए । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले चरम आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी विदेश पलायन हुने अवस्था सृजना भएकोले सरकार यस तर्फ जागरुक हुनु पर्ने सुझाव दिएका थिए ।