- चिरफार डटकम, विराटनगर ६०६ पटक हेरिएको
आइतबार, माघ २८, २०८० समय : १७:११:३३ , ८ महिना अगाडि
भारतसँग सिमाना जोडिएको विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थित भेडियारीमा छाडा साँढे आतंक बढेको छ । १० भन्दा बढि छाडा साँढेले एकै दिनमा १० कठ्ठा क्षेत्रफलमा लगाएको गहुँ र मकै खाइदिँदा किसान स्थानीय सरकार विराटनगर महानगरपालिका सँग असन्तुष्ट बनेको छ । तर किसानको समस्या समाधान गर्न विराटनगर महानगरपालिका उदासिन छ ।
स्थानीय किसान एवं जनता समाजवादी पार्टी नेपालका पूर्व जनप्रतिनिधि राजदेव यादवको नेतृत्वमा २ सय भन्दा बढि किसानले हस्ताक्षर गरेर छाडा साँढेलाई नियन्त्रण गर्न विराटनगर महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीलाई केही दिन अगाडि भेडियारीका किसानले छाडा साँढेलाई नियन्त्रण गरी दिन ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाई भएको छैन ।
स्थानीय किसानले १० भन्दा बढि छाडा साँढेलाई नियन्त्रणमा लिएर बन्धक बनाएका छन् । विराटनगर–१८ भेडियारी स्थित विराट राजा दरबारको कम्पाउण्ड वाल लगाएको पोखरी भित्र स्थानीयवासीले १० वटा साँढेलाई नियन्त्रणमा लिएर बन्धक बनाएका छन् । जुन साँढेलाई हेर्न स्थानीयवासीको भिड लाग्न थालेका छन् । तर स्थानीय सरकार विराटनगर महानगरपालिकाका पदाधिकारी साँढे नियन्त्रण गर्न आनाकानी गरिरहेका छन् ।