१६ वर्षपछि मटेरवा प्रहरी चौकीमा पहिलो महिला इन्चार्ज

  • ब्रह्मदेव यादव, विराटनगर १२५७  पटक हेरिएको

बुधबार, फाल्गुण २३, २०८० समय : १७:२९:२७ , ९ महिना अगाडि

मोरङ प्रहरीले १६ वर्षपछि मटेरवा प्रहरी चौकीमा पहिलो महिला इन्चार्ज पठाएका छन् । मोरङ जिल्लाको विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको सीमान्त क्षेत्र मटेरवा चौकी चोरी तस्करीका लागि प्रख्यात नाका मानिन्छ । जहाँ ड्युटीमा खटिने गरेको प्रहरीले जोखिम मोलेर तस्कर सँग सामना गर्ने गरेका छन् । त्यस्तो जोखिम नाकामा मोरङ प्रहरीले कार्यालय स्थापना भएको १६ वर्षपछि महिलालाई इन्चार्ज बनाएर पठाएका छन् ।

२०८० फागुन ७ गतेदेखि मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी नवराज कार्कीले असई उर्मिला गुरुङलाई मटेरवा प्रहरी चौकीको इन्चार्ज बनाएर पठाएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेलमा कार्यरत असई गुरुङ सरकारी सेवाबाट रिटायर हुन साढे ३ वर्ष मात्र समय बाँकी छ । गुरुङ नेपाल प्रहरीको जागिर अवधिमा पहिलो पटक कुनै प्रहरी चौकीको इन्चार्ज हुने अवसर पाएका छन् । र त्यो अवसर एसपी कार्कीले जुटाई दिएको हो ।

भारतको जोगबनी सँग सिमाना जोडिएको मटेरवा प्रहरी चौकीमा २०६४ सालदेखि कार्यरत प्रहरी इन्चार्जको नेमलिष्ट छ । त्यो भन्दा अगाडि मोरङ प्रहरी मातहत रहेको ईलाका प्रहरी कार्यालय रानीले मटेरवा प्रहरी चौकीमा सुरक्षाको लागि प्रहरी परिचालन गर्ने गरेका थिए । र अहिलेसम्म मोरङ प्रहरीको रेखदेखमा ईलाका प्रहरी कार्यालय रानीले नै मटेरवा प्रहरी चौकीको सुरक्षामा प्रहरी परिचालन गर्ने गरेका छन् । २०६४ सालदेखि २०८० सालसम्म मटेरवा प्रहरी चौकीमा ३५ जनाले इन्चार्जको रुपमा काम गरी सेकका छन् । र पहिलो पटक ३ दिन अगाडिदेखि प्रहरी सहायक निरीक्षक गुरुङ महिला प्रहरी अधिकृतको रुपमा मटेरवा प्रहरी चौकीको इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नं. ८ स्थित अशोक चौक घर भएकी असई गुरुङ मटेरवा प्रहरी चौकीको इन्चार्जको जिम्मेवारी सम्हालेपछि प्रहरी चौकीमा नै बसाई सरेका छन् । २०६४ सालमा  जिल्ला प्रहरी कार्यालय मोरङमा गोपालप्रसाद भण्डारी एसपी थिए । २०६४ पछि २०८० सम्म जिल्ला प्रहरी कार्यालय मोरङमा १८ जना एसपीले काम गरी सकेका छन् । तर कसैले गर्न नसकेको काम एसपी कार्कीले मटेरवा प्रहरी चौकीमा महिला प्रहरीलाई इन्चार्ज बनाएर गरेका छन् । जसको नेपाल प्रहरीको संगठन भित्र चर्चा, बहस र प्रशंसा भई रहेका छन् ।