अब मोरङ व्यापार संघमा बरिष्ठ उपाध्यक्ष को ?

  • ब्रह्मदेव यादव, विराटनगर ४६१  पटक हेरिएको

बुधबार, चैत्र ०७, २०८० समय : १४:५२:११ , ७ महिना अगाडि

मोरङ व्यापार संघको ३४औं कार्यकारिणी समितिको लागि बरिष्ठ उपाध्यक्ष पदको नेतृत्वमा को पुग्ने विषयमा लबिङ सुरु भएको छ । संघको ३३औं कार्यकारिणी समितिमा विकास बेगवानी र अनिल साह उपाध्यक्ष पदमा बहाल रहेका छन् । र यी दुई जना मध्ये एक जना बरिष्ठ उपाध्यक्ष पदको नेतृत्व सम्हाल्ने छन् । संघमा बरिष्ठ उपाध्यक्ष पदको नेतृत्व सम्हाली सकेका पदाधिकारी स्वत अध्यक्ष बन्ने परम्परा छ ।

बहालवाला उपाध्यक्ष बेगवानी र साह मध्ये कसलाई बरिष्ठ उपाध्यक्ष पदको नेतृत्व सुम्पिदा संघको हक हित सँगै उद्योगी व्यवसायीको पक्षमा काम गर्न सहज हुने विषयमा संघका पूर्व अध्यक्षहरूले छलफल जारी राखेका छन् । संघमा ३४औं कार्यकारिणी समितिका लागि पदाधिकारी चयन गर्ने उद्देश्यका साथ यही चैत्र २२ गते साधारण सभा बोलाइएको छ ।

संघका अध्यक्ष नविन रिजालले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी नदिने इच्छा व्यक्त गरेपछि बहालवाला बरिष्ठ उपाध्यक्ष अनुपम राठी सर्वसम्मत रुपमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने टुंगो लागेको छ । राठीका बुवा नन्दकिशोर राठी र हजुर बुवा आशकरण राठी संघमा अध्यक्ष पदको जिम्मेवारी सम्हाली सकेको छन् । अनुपम राठी मोरङ व्यापार संघको अध्यक्ष पदको नेतृत्वमा पुग्दा संघमा एउटै परिवारका तीन पुस्ता अध्यक्ष पदमा पुगेको इतिहास पनि कायम हुनेछ ।