- ब्रह्मदेव यादव, विराटनगर ४२४ पटक हेरिएको
सोमबार, चैत्र १९, २०८० समय : १८:४९:२९ , ८ महिना अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संघीय सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कुर्सी जोगाउन भ्रष्टाचारीलाई छोडी रहेको आरोप लगाएका छन् । पार्टीले सोमबार विराटनगरमा आयोजना गरेको अवस्था बदलन, व्यवस्था बदलौँ, जनजागरण सभामा लिङदेनले भ्रष्ट्राचार सँग प्रधानमन्त्री प्रचण्डले सम्झौता गरेको किटानी आरोप लगाए ।
समग्र नेपालको अवस्थामा सुधार ल्याउन सबै राजनैतिक दल मिलेर नयाँ सम्झौताका साथ अगाडि बढ्न लिङदेनले प्रस्ताव गरेका छन् । देशलाई अगाडि बढाउन हुने नयाँ प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुन स्थान दिने हो । त्यस विषयमा धारणा सार्वजनिक गर्न राजनैतिक दललाई लिङदेनले सुझाव दिएका छन् । प्रदेश संरचना खारेज, राष्ट्रिय सभा खारेज गरेर संघीय र स्थानीय तह गरी दुई तहको संरचना मात्रै राख्न नयाँ सम्झौताको बटम लाइन हुने पर्ने लिङदेनको प्रस्ताव छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चयन र हिन्दु राष्ट्र स्थापनालाई नयाँ सम्झौतामा समेट्नु पर्ने लिङदेनको भनाई छ । राजनैतिक दलहरूले देशलाई अगाडि बढाउन अविलम्ब नयाँ सम्झौताका लागि तयार नभए राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा भीषण आन्दोलन गर्ने र त्यो आन्दोलन विद्रोहको रुपमा परिणत हुने लिङदेनको चेतावनी छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री प्रहलाद साह, केन्द्रिय प्रवक्ता भक्ति सिटौला, सहप्रवक्ता दिनेश कुमार साह र मोरङ जिल्ला अध्यक्ष गोपाल कटुवालले जनजागरण सभालाई सम्बोधन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले सोमबार विराटनगरको जनआन्दोलन चौकमा जनजागरण सभा सञ्चालन गर्नु भन्दा अगाडि विराटनगरमा शक्ति प्रदर्शन गरेका थिए ।