आन्तरिक राजश्व कार्यालय विराटनगरले आयकर असुली अभियान सुरु गर्‍यो 

  • चिरफार डटकम, विराटनगर १३१९  पटक हेरिएको

शुक्रबार, चैत्र २३, २०८० समय : १७:५२:०८ , २ वर्ष अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि आयकर तर्फ दोस्रो किस्ता असुलीका लागि अभियान सुरु गरेका छन् । चैत्र मसान्त भित्र आयकर बुझाइ सक्नु पर्ने प्रावधान रहेकोले आन्तरिक राजश्व कार्यालय विराटनगरले तोकिएको समय सिमा भित्र आयकर बुझाउन पर्ने अभियान सुरु गरेका छन् ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.वि. क्षेत्रीले उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र विराट व्यापार संघका पदाधिकारी सँग सिधै सम्पर्क गरेर तोकेको समय सिमा भित्र आयकर बुझाउन मातहतका करदातालाई जानकारी गराइ दिन परिपत्र गरेका छन् ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. क्षेत्रीले नेपाल चार्टर एकाउन्टेन्ट संघ कोशी प्रदेशका अध्यक्ष सीए मनोज अधिकारी, नेपाल चार्टर एकाउन्टेन्ट संस्था विराटनगर शाखा अध्यक्ष सीए अश्विनी बंशल सहित दर्तावाला लेखा परीक्षक र कर सहयोगी सँग आयकर बुझाउन उद्योगी व्यवसायीलाई जानकारी गराई दिन निरन्तर छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।

नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागले उद्योगी व्यवसायीलाई १ वर्षको अवधिमा ३ किस्ता गरेर आयकर बुझाउनु पर्ने व्यवस्थाको प्रावधान गरेका छन् । उद्योगी व्यवसायीले आयआर्जन गरेको रकमबाट पुस मसान्त भित्र पहिलो किस्ता ४० प्रतिशत, चैत्र मसान्त भित्र दोस्रो किस्ता ३० प्रतिशत र आर्थिक वर्षको समापन असार मसान्त भित्र ३० प्रतिशत गरी शतप्रतिशत आयकर बुझाउनु पर्ने सुविधा दिएको छ । 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित