सुनसरीको हरिनगरा तनावग्रस्त 

  • ब्रह्ममदेव यादव, विराटनगर ४५६  पटक हेरिएको

शनिबार, चैत्र २४, २०८० समय : १७:०४:१६ , ६ महिना अगाडि

सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका क्षेत्र तनावग्रस्त छ । श्रीरामको झण्डा कुरानको विषयलाई लिएर दुई समुदाय बिच उत्पन्न विवाद कुटपिटमा परिणत भएकोले हरिनगरा गाउँपालिका क्षेत्र तनावग्रस्त बनेका छन् । दुई समुदाय बिच उत्पन्न विवादले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारदेखि हरिनगरा गाउँपालिका क्षेत्र सहित आसपासका पाँच पालिकामा कफ्यू नै लगाएका छन् ।

सुनसरी प्रशासनले लगाएको कफ्यूको बावजुत हरिनगरा र देवानगन्ज गाउँपालिकावासीले शुक्रबारदेखि निरन्तर प्रदर्शन गरी रहेका छन् । हरिनगरा गाउँपालिका अध्यक्ष गफार अंसारी र उनका छोरा फैजान अंसारी घटना घटाउने विषयमा संलग्न रहेकोले बाबु छोरालाई कारवाहीको माग गर्दै शनिबार हरिनगरा र देवानगंजवासीले प्रदर्शन गरेका छन् ।

अध्यक्ष अंसारीले देवानगंजका राजु मेहतालाई आन्दोलन नर्चकाउन र आन्दोलन चर्काएको खण्डमा ठिक नहुने भन्दै फोनमा धम्की दिएका थिए । उनका छोराले जीवन मेहतालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल मार्फत बाहिरिएका छन् । घटनाको बेला कुटपिट गरिएका जीवन मेहताको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचार भई रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिबार बसेको सर्वदलीय बैठकमा घटनामा संलग्न दोषीलाई कारवाही गर्ने सहमति जुटेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले बताए । तर दुई समुदाय बिच खलबलिएको सम्बन्ध तत्कालै समाधान नहुने अवस्था रहेकोले कफ्यू जारी छ । स्थानीयवासिको प्रदर्शन र कफ्यूको कारण हुलाकी राजमार्गबाट हुने गरेको आवतजावत ठप्प छ ।