“कर प्रणाली बारे अभिमुखीकरण”

  • ब्रह्मदेव यादव, विराटनगर ५९३  पटक हेरिएको

आइतबार, चैत्र २५, २०८० समय : १४:१६:५७ , ६ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले आइतबार विराटनगरका करदाताहरूलाई कर प्रणालीबारे जानकारी गराएका छन् । विराट व्यापार संघ विराटनगरले आइतबार विराटनगरमा आयोजना गरेको करदातालाई करप्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख कर अधिकृत डा. क्षेत्रीले करप्रणाली बारे राज्यले व्यवस्था गरेको ऐन कानुनबारे जानकारी गराएको हो । कार्यालयले कर असुली गर्ने अख्तियारी पाएको विभिन्न कर शिर्षक बारे ऐनमा उल्लेख गरिएको प्रावधान बारे करदातालाई जानकारी गराएको हो ।

करदाताले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर, इटीडीएस कर समयमा नबुझाए दण्ड जरिवाना सहित तिर्नुपर्ने कर प्रावधानको बारेमा प्रमुख कर अधिकृत डा. क्षेत्रीले जानकारी गराएका हुन् । कर दाताले कर प्रणाली बारे उठाएको प्रश्नको प्रमुख कर अधिकृत डा. क्षेत्रीले चित्तबुझ्दो जवाफ दिएका छन् । विराट व्यापार संघले कर प्रणालीको व्यवस्थालाई उल्लेख गरेर तयार पारेको नयाँ वर्ष २०८१ सालको क्यालेण्डरको प्रमुख कर अधिकृत डा. क्षेत्रीले शुभारम्भ गरेका छन् ।

कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, निवर्तमान अध्यक्ष नरेशकुमार खत्री, पूर्व अध्यक्ष शिव रिजाल, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष शरद श्रेष्ठ, मनोहर कार्की, महासचिव, किरण ढुंगेल, उपमहासचिव भवेष पौडेल र संघका कार्यकारी अधिकृत धरणीधर निरौलाले बैंकको चर्को ब्याजदर र बिक्री गरिएको सामानको समयमा भुक्तानी नआउँदा व्यवसायीले चाहेर पनि समयमा कर तिर्न नसकिरहेको धारणा व्यक्त गरेका छन् ।