- ब्रह्मदेव यादव, विराटनगर ४८५ पटक हेरिएको
सोमबार, बैशाख १७, २०८१ समय : १४:२७:४६ , ६ महिना अगाडि
विराटनगर बजारका अधिकांश कपडा पसलका सञ्चालकहरूले तस्करीको माध्यमबाट भित्र्याइएको कपडा बिक्री गरिरहेका छन् । विराटनगरका अधिकांश कपडा पसलका सञ्चालकले बिक्री गर्ने गरेको कपडाको भ्याट बिल उपभोक्तालाई दिने गरेको छैन । जसका कारण कपडा पसलका सञ्चालकले राज्यलाई तिर्नुपर्ने मोटो रकम राजश्व छली गरी रहेका छन् ।
कपडा पसलका सञ्चालकहरू भारतको जोगबनीबाट तस्करीको माध्यमबाट कपडा पसलसम्म भित्र्याउने र ती कपडा बिक्री गर्दा कुनै पनि ग्राहकलाई भ्याट बिल दिइदैन । कपडा पसलका सञ्चालकले १ हजार रुपैयाँको कपडा ५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । तर ग्राहकलाई बिक्री गरेको कपडाको भ्याट बिल दिन मान्दैनन् । ग्राहक पनि कपडा खरीद गर्दै भ्याट बिल नै नलिइकन फर्किने गरेका छन् । जसका कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व चुहावट भइरहेको छ ।
यस बाहेक विराटनगरका सबै कपडा पसलका सञ्चालकले आफूखुशी मनपरी तरिकाले कपडामा मूल्य सूची स्टिकर टाँस्ने गरेका छन् । तस्करबाट १ हजार रुपैयाँमा खरीद गरेको कपडामा बढिमा ५ हजार रुपैयाँसम्मको मूल्य सूची स्टिकर टासेर सर्वसाधारणलाई ठगी गरिरहेका कपडा व्यवसायीलाई कानुनी दायरामा ल्याउन राज्य निकायको अनुगमन नीति फितलो छ ।
जसको कपडा व्यवसायीहरूले भरपुर रुपमा फाइदा उठाई रहेका छन् । नेपाल भारतको सिमा क्षेत्रमा सक्रिय ५० भन्दा बढि कपडा व्यवसायीले जोगबनी बजारबाट भरिया मार्फत नेपाल भित्र्याउने मोटो रकम बराबरको कपडा विराटनगरका कपडा व्यवसायीको गोदामसम्म पुर्याउने गरेका छन् । र विराटनगरका अधिकांश कपडा व्यवसायीले त्यसरी तस्करीको माध्यमबाट भित्र्याइएको कपडा निर्वाध रुपमा बिक्री गरिरहेका छन् । जुन कार्यमा राज्यको तीनवटै सुरक्षा निकायको उच्चपदस्थ कर्मचारीहरूको संलग्नता रहेको छ ।