- ब्रह्मदेव यादव, विराटनगर ५०३ पटक हेरिएको
बिहिबार, बैशाख २७, २०८१ समय : १४:५९:४६ , ५ महिना अगाडि
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई बर्खास्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले जुन संविधानको धारा प्रयोग गरेर केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यतिखेर पुनः त्यही धारा प्रयोग गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । यो प्रक्रिया भनेको निर्दलीय मुख्यमन्त्री हो । यसमा पार्टीको हिवप लाग्दैन । र सांसदहरुले मुख्यमन्त्रीलाई स्वतन्त्र सांसदको हैसियतमा समर्थन गर्न र विश्वासको मत दिन पाउँछन् ।
प्रदेश प्रमुख खापुङले बुधबार राती मुख्यमन्त्री केदार कार्कीलाई बर्खास्त गरेर ३ दिन भित्र नयाँ सरकार गठन गर्न आवहान गर्दै समय सिमा तोकेका थिए । नेकपा एमाले कोशी प्रदेश सांसदिय दलका नेता हिक्मत कार्की, ५२ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको हो । यस अघि नेपाली कांग्रेसका सांसद केदार कार्कीले कांग्रेसबाट विद्रोह गरी ८ सांसद लिएर नेकपा एमालेका ३९ सांसद सहित ४७ सांसदको समर्थनमा संविधानको धारा १६८ का उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए ।
केदार कार्कीलाई एमालेले मुख्यमन्त्री बनाएको थियो । र एमालेले नै मुख्यमन्त्रीबाट हटाएको छ । एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागि गराएपछि एमाले मुख्यमन्त्री केदार कार्की सँग चिडिएका थिए । पछि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका थिए ।
मुख्यमन्त्री केदार कार्कीको सरकारमा सहभागि नेकपा माओवादी केन्द्र पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री केदार कार्की अपठ्यारोमा परेका थिए । एमाले र माओवादी केन्द्रले कोशी प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता गरेर मुख्यमन्त्री केदार कार्कीलाई हटाउन लागी परेका थिए । प्रदेश प्रमुख खापुङले त्यसमा निर्णायक भूमिका निर्वाह गरेपछि एमाले र माओवादी केन्द्र आफ्नो मिसनमा सफल भएका छन्