- ब्रह्मदेव यादव, विराटनगर ४६८ पटक हेरिएको
सोमबार, बैशाख ३१, २०८१ समय : १६:१२:३३ , ५ महिना अगाडि
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिएन । बैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार कोशी प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालका ५७ जना सांसदहरुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसदहरुले पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । कांग्रेसका २९ सांसदले प्रदेश सभाको बैठकलाई बहिष्कार गरेका छन् । नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई असंवैधानिक मुख्यमन्त्री भन्दै विश्वासको मत दिएन । र विश्वासको मत हासिल गर्ने स्थान कोशी प्रदेश सभाको बैठकलाई बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले असंवैधानिक मुख्यमन्त्री कार्कीको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको, जेठ ९ गतेको लागि मुद्दाको पेशी तोकेको र मुद्दाको फैसला नहुँदै हतार हतारमा विश्वासको मत लिन खोजेकोले प्रदेश सभाको बैठकलाई बहिष्कार गरेको स्पष्ट पारेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(५) बमोजिम बनेको सरकारका मुख्यमन्त्री केदार कार्कीलाई बर्खास्त गरेर हिक्मत कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।
जुन कार्यलाई असंवैधानिक भन्दै पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख खापुङलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । र अदालतले जेठ ९ गते विपक्षको नाममा कारण देखाउ आदेश जारी गरेका छन् ।