कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने

  • ब्रह्मदेव यादव, विराटनगर ४३७  पटक हेरिएको

सोमबार, जेठ २१, २०८१ समय : १८:२७:३५ , ४ महिना अगाडि

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने उद्घोष गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेश भामा कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने कार्यक्रम उल्लेख गरिएको छ । कोशी प्रदेश चिया खेतीका लागि विश्वमै प्रख्यात छ ।

नेपाली चिया रंगलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर कोशी प्रदेशका चियाको खेती गर्ने किसानको आम्दानीलाई बढाउन अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्न सरकार अगाडि बढेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चिया खेती पकेट क्षेत्र झापाका बासिन्दा हुन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने नीति अगाडि सारेका छन् ।

अब त्यसका लागि बजेट विनियोजन गरेर अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गर्ने छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा अन्तर्राष्ट्रिय चिया सम्मेलन सँगै लगानी सम्मेलन गर्नेछ । कोशी प्रदेशलाई स्वच्छ, सुखी र सम्मुन्त प्रदेश बनाउन विदेशी लगानी आवश्यक रहेकोले सरकारले नीति तथा कार्यक्रम मार्फत नै लगानी सम्मेलनको तयारी थालेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको बैठकमा पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख खापुङले वाचन गरेको हो । कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट, उपसभामुख सरस्वती दनुवार र प्रदेश सचिव गोपालप्रसाद पराजुलीले प्रदेश प्रमुख खापुङलाई स्वागत गरेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरिएको रिट बहसको क्रममा थन्किएको छ । अदालतको फैसला नआउन्जेलसम्म कोशी प्रदेश सरकारको कुनै पनि कार्यक्रममा सहभागि नहुने गरेको निर्णयबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पछाडि फर्केको छ । सरकारले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कांग्रेसका सांसद सहभागि भएका थिए ।