- ब्रह्मदेव यादव, विराटनगर ६१२ पटक हेरिएको
बुधबार, आषाढ ०५, २०८१ समय : १६:०५:४३ , ४ महिना अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर स्थित कोशी अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री प्रहलादप्रसाद साहको नेतृत्वमा गएको पार्टीका नेता तथा कार्यकर्ताहरूले मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई ज्ञापनपत्र बुझाउँदै बिग्रिएर थन्किएको अवस्थामा पुगेको सिटी स्क्यान मेसिनलाई अविलम्ब मर्मत सम्भार गरेर सुचारु गर्न सुझाव दिएका छन् ।
सरकारी स्वामित्वको कोशी अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिदा सर्वसाधारण सेवाग्राहीले निजी अस्पताल र नर्सिङ होममा मोटो रकम खर्चेर उपचार गराइरहेका छन् । सर्वसाधारण नेपाली जनतालाई थप मार नबेहोर्ने गरी सरल र सुलभ तरिकाले उपचार सेवा प्रदान गर्नका लागि थन्किएको सिटी स्क्यान मेसिनलाई मर्मत सम्भार गरेर सुचारु गर्न तथा बिग्रिएको मेसिन मर्मत सम्भार हुन सक्दैन भने सरकारलाई भनेर नयाँ मेसिन खरिद गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई सुझाव दिएका छन् ।
सरकारले गरिब तथा विपन्न बर्ग र समुदायलाई उपलब्ध गराएको औषधि सेवाग्राहीले पाउनु पर्ने, मेडिकल सम्बन्धी उपचार सामग्री सेवाग्राहीले पाउनु पर्ने, सरकारले निर्धारण गरेको समय अवधि भित्र डाक्टर ओपिडी सेवामा बस्नु पर्ने र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समयमै शल्यक्रिया गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले आफू केही दिन अगाडि मात्रै मेडिकल सुपरिटेन्डेन्ट पदको कार्यभार सम्हाले लगत्तै अस्पताल सुधारको पक्षमा काम गरी रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री प्रहलाद साह सहित नेताहरू मनोज बस्नेत, राजेन्द्र बस्ने, तराजेश मास्के ज्ञापनपत्र बुझाउन कोशी अस्पताल पुगेका थिए ।