विराटनगरमा ट्राफिक सप्ताह सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ४०४  पटक हेरिएको

बिहिबार, आषाढ ०६, २०८१ समय : १५:३४:२२ , ४ महिना अगाडि

विराटनगरमा बिहीबारदेखि ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । असार १२ गते ट्राफिक सप्ताहको समापन हुनेछ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले संयुक्त रुपमा ट्राफिक सप्ताह २०८१ को शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगरमा ट्राफिक सप्ताहको शुभारम्भ गरेको हो ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी, नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी इन्स्पेक्टर सुमन न्यौपाने, ट्राफिक सप्ताह शुभारम्भ कार्यक्रममा सहभागि थिए ।

कार्यक्रममा नेपाल प्रहरीलाई पटक पटक सहयोग गर्ने सहयोगी युवा उद्यमी तथा अटो सिटी इटहरी बजार मोटरसाइकल सोरुमका अध्यक्ष प्रदिपकुमार सन्थलिया, नेपाल प्रहरीका पूर्व डीएसपी बद्रि विक्रम थापा सहित नेपाल प्रहरीलाई सहयोग गर्ने सहयोगी संस्थाका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । इटहरीका युवा व्यवसायी सन्थलियाले नेपाल प्रहरीलाई एक पटक ४, अर्को पटक २ गरी ६ थान इलेक्ट्रोनिक्स ट्याम्पो र १ थान मोटरसाइकल सहयोग गरेका थिए । ट्राफिक सप्ताहको शुभारम्भ हुनु अघि विराटनगरका विभिन्न विद्यालयमा अध्यनर विद्यार्थी, संघ संस्थाका पदाधिकारी, नेपाल प्रहरीको सहभागितामा र्‍याली निकालिएको थियो ।