नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत तर पनि महिला पीडित

  • ब्रह्मदेव यादव, विराटनगर ४९५  पटक हेरिएको

शुक्रबार, आषाढ ०७, २०८१ समय : १३:२५:४२ , ४ महिना अगाडि

नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत छ । तर पनि महिला पीडित छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा एबीसी नेपाल कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको लैंगिक हिंसा विरुद्धको एक दिने चेतनामूलक तालिममा संस्थाका अध्यक्ष विष्णु शर्माले नेपालको कुल जनसंख्याको ५१ प्रतिशत महिलाको जनसंख्या रहेको देशमा महिला पीडित रहेको बताए ।

देशमा पुरुष भन्दा महिलाको जनसंख्या बढि छ । तर पनि महिला दोस्रो दर्जाको नागरिकको जीवन बिताइ रहेको अध्यक्ष शर्माले बताइन । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले प्रमुख अतिथिको आसनबाट तालिमको उद्घाटन गर्दै देश र समाज रूपान्तरणका लागि लैंगिक हिंसा विरुद्धको तालिम आवश्यक रहेको बताइन । बढ्दो हिंसा र अपराधबाट देश र समाजलाई कसरी बचाउने आजको आवश्यकता रहेको उपसभामुख दनुवारले बताइन ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विश्वको विकसित मुलुकहरूमा पनि लैंगिक हिंसाको घटना हुने गरेको बताए । तर विकसित मुलुकमा लैंगिक हिंसाको घटना न्यून रहे पनि नेपालमा लैंगिक हिंसाको घटना बढ्दो क्रममा रहेको बताए । मोरङ जिल्लामा ११ लाख ५० हजार भन्दा बढि जनसंख्या रहेको जिल्लामा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले प्रत्येक दिन मोरङ प्रहरीमा लैंगिक हिंसा तथा घटनाको बारेमा निरन्तर छलफल भई रहेको बताए । तर पनि महिला हिंसाको घटना बढ्दो क्रममा रहेको बताए । एबीसी नेपाल कोशी प्रदेशका कार्यसमिति सदस्य गीताञ्जली शर्माले तालिममा सहभागि अतिथिहरूलाई स्वागत गर्दै महिला हिंसा न्यूनिकरणका लागि संस्थाले काम गरी रहेको बताए ।

कार्यक्रममा कोशी प्रदेशका सांसद सम्झना तामाङ, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकृत रामकुमारी राईको सहभागिता रहेको थियो ।