जसपा नेपालमा मोरङबाट ९ जना केन्द्रिय सदस्य

  • ब्रह्मदेव यादव, विराटनगर ७४४  पटक हेरिएको

बिहिबार, आषाढ २७, २०८१ समय : १७:२३:३३ , ३ महिना अगाडि

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालले मोरङ जिल्लाबाट ९ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेको छ । जनता समाजवादी पार्टी नेपालको २०८१ साल जेठ २८, २९ र ३० गते मधेस प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न राष्ट्रिय महाधिवेशनले उपेन्द्र यादवलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गर्दै केन्द्रिय समितिको पदाधिकारी, कार्यकारिणी समिति र केन्द्रिय सदस्य मनोनयन गर्ने अधिकार नवनिर्वाचित अध्यक्ष यादवलाई प्रदान गरेको थियो ।

अध्यक्ष यादवले पाएको जिम्मेवारी बमोजिम मोरङ जिल्लाबाट ९ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेको हो । नवनिर्वाचित अध्यक्ष यादवले देशभरीबाट २ सय १५ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेका छन् । संजयकुमार सिंह, जयराम यादव, रञ्जु बर्मा, भोगेन्द्र यादव, सुरेशप्रसाद सिंह गनगाईं, पन्नालाल मण्डल, कुन्ता राई, सदिना खातुन र शान्ता मोक्तानलाई अध्यक्ष यादवले केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।

मोरङबाट केन्द्रिय सदस्यमा मनोनयन भएका संजयकुमार सिंह र जयराम यादव जनता समाजवादी पार्टी नेपालका वरियता क्रम अनुसार बरिष्ठ सदस्य हुन् । सिंह यस अघि पार्टीको राजनैतिक समिति सदस्य (पोलिट ब्यूरो) को जिम्मेवारी निर्वाह गरी सकेका छन् । जयराम यादव पार्टीको तर्फबाट मोरङ क्षेत्र नं. ५ बाट संविधान सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका छन् । पछिल्लो समय यादव पार्टीको तर्फबाट कोशी प्रदेश सरकारमा मन्त्री रहेका थिए ।