२ बस त्रिशुलीनदिमा खस्यो, ७ भारतीय सहित ६३ यात्रु बेपत्ता

  • ब्रह्मदेव यादव, विराटनगर ५१७  पटक हेरिएको

शुक्रबार, आषाढ २८, २०८१ समय : १४:००:२२ , ५ महिना अगाडि

नारायणघाट–मुग्लिन सडक खण्डको सिमलताबाट २ बस त्रिशुलीनदिमा खसेको छ । बसमा सवार ७ भारतीय सहित ६३ यात्रु बेपत्ता अवस्थामा छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली डुंगामार्फत बेपत्ता यात्रुको खोजी कार्यमा जुटेको छ । शुक्रबार बिहान ३ः३० बजे बिरगंजबाट काठमाडौं गइरहेको र काठमाडौंबाट रौतहट तर्फ आइरहेको २ यात्रुबाहक बस एक आपसमा ठोकिएर त्रिशुलीनदिमा खसेको थियो ।

भारतीय सञ्चार माध्यमले त्रिशुलीनदिमा खसेका ६३ मध्ये ७ भारतीय नागरिक रहेको समाचार प्रकाशन गरेको छ । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले त्रिशुलीनदिमा बेपत्ता भएका यात्रुको खोजी कार्यमा सरकारको तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेना जुटेको जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले एकाबिहानै २ बस एकआपसमा ठोकिएर त्रिशुलीनदिमा खसिएको प्राप्त सूचनाको आधारमा खोजबिनका लागि टोली परिचालन गरिएको बताए । तर घटनास्थलमा पुग्दा कुनै सवारी साधन फेला नपरेकोले डुंगामार्फत गोताखोर सहित सुरक्षाकर्मी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको बताए । नदिमा खसेका बसका यात्रु मध्ये केही पौडिएर बाच्न सफल भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भई रहेको छ ।