भदौंमा सरकार विस्तार– मुख्यमन्त्री कार्की

  • ब्रह्मदेव यादव, विराटनगर ४२५  पटक हेरिएको

आइतबार, साउन २७, २०८१ समय : १८:५२:५२ , ३ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौं महिनामा सरकार विस्तार गर्ने बताएका छन् । आइतबार विराटनगरमा संसदीय पत्रकार मञ्च सँग आवद्ध पत्रकारसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले यस्तो विचार व्यक्त गरेको हो । कोशी प्रदेश सरकारमा कांग्रेसलाई सहभागि गराउने प्रमुख सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेस बिच सहमति भएको छ ।

संघिय सरकारमा नेकपा एमाले र नेपाली कांग्रेस सहभागि छन् । कोशी प्रदेशमा एमाले र कांग्रेसले सरकार चलाउने सहमति भएका छन् । सहमति अनुसार पहिलो चरणमा नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व गर्नेछ । दोस्रो चरणमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएका छन् । तर नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीको नाम दिन ढिलाई गरेको कारण सरकार विस्तारमा ढिलाई भएको मुख्यमन्त्री कार्कीले बताए ।

एमाले र कांग्रेस बिच भएको सहमति अनुसार कोशी प्रदेशमा एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय र कांग्रेसले ४ मन्त्रालय पाउने छ । कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाउन सकेका छैनन् । कोशी प्रदेशमा कांग्रेसका २९ सांसद रहेका छन् । जसमध्ये २७ सांसद मन्त्रीका आकांक्षी रहेका थिए । तर पछिल्लो समय कांग्रेसबाट एक दर्जन सांसदहरु मन्त्री बन्ने दाबी गरिरहेका छन् ।

कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस इतर पक्ष डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले आफ्ना नजिकका सांसदलाई मन्त्री बनाउने लबिङ जारी राखेका छन् । जसका कारण सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्न सकेको छैन । कांग्रेस भित्रका कमजोरी थाहा पाएका मुख्यमन्त्री कार्कीले अब भदौंमा मात्र कांग्रेसलाई सहभागिता गराएर सरकार विस्तार गर्ने दाबी गरेका छन्  ।