मोरङमा जग्गाको कित्ताकाट रोक्यो 

  • ब्रह्मदेव यादव, विराटनगर ५९६  पटक हेरिएको

मंगलबार, भाद्र ०४, २०८१ समय : १५:३८:१३ , २ महिना अगाडि

भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा दुई दिनदेखि जग्गाको कित्ताकाट रोकिएको छ । विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाले जग्गाको वर्गीकरण गर्न नसकेको कारण ती दुवै पालिकाको जग्गाको बिक्रीमा भूमिसुधार तथा मालपोत कार्यालय मोरङले रोक लगाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरका मालपोत अधिकृत गोपाल दाहालले विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाले जग्गाको वर्गीकरण नटुङ्गाउन्जेलसम्म ती दुवै पालिकाको जग्गाको बिक्रीमा रोक लगाइएको बताए । विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकालाई १० वर्गमा जग्गाको वर्गीकरण गर्न सरकारी मापदण्ड तय गरिएको छ ।

विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिका जग्गाको वर्गीकरण गर्न आलटाल गरिरहेका छन् । मोरङको १७ वटा स्थानीय पालिकामध्ये भूमिसुधार तथा मालपोत कार्यालय मोरङ विराटनगरले ६ पालिकाको जग्गा बिक्री गर्ने अख्तियारी पाएको छ । कटहरी, धनपालथान, ग्रामथान र जहदा गाउँपालिकाले यस अघिनै जग्गाको वर्गीकरण टुङ्गाइ सकेकोले ती पालिकाको जग्गा बिक्री भइरहेको छ ।