स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन संविधान संशोधन गर्नुपर्छ– उपेन्द्र यादव 

  • ब्रह्मदेव यादव, विराटनगर ६०६  पटक हेरिएको

मंगलबार, भाद्र १८, २०८१ समय : १८:४१:४१ , १ महिना अगाडि

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन संविधान संशोधन आवश्यक रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले भनेः स्थानीय तह संघिय सरकार मातहत छ ।

स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउनु पर्छ । त्यसका लागि संविधान संशोधन आवश्यक छ । संघियता लागु भएको देशमा स्थानीय तह प्रदेश सरकार मातहत रहने संवैधानिक व्यवस्था छ । तर नेपाल मात्रै यस्तो देश हो जहाँ संघियता छ । तर स्थानीय तह संघिय सरकारको मातहत छ । यो ठुलो संवैधानिक त्रुटि हो । यसलाई संविधान संशोधन गरेर सच्याउनु पर्छ । स्थानीय तह गैर दलीय हुनुपर्छ ।

जनता समाजवादी पार्टी नेपाल त्यसको पक्षमा उभिएको अध्यक्ष यादवले बताए । उम्मेदवार र राजनैतिक दलले एक रुपैयाँ पनि खर्च नगर्ने गरी पूर्ण समानुपातिक निर्वाचत प्रणालीको पक्षमा जनता समाजवादी पार्टी नेपाल उभिएको छ । त्यसका लागि पनि संविधान संशोधन आवश्यक रहेको अध्यक्ष यादवले बताए । देशमा प्रत्यक्ष निर्वाचन प्रणालीको आवश्यकता छ । देशको कार्यकारी प्रमुख राष्ट्रपति जनताले प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गर्नुपर्छ । जनता समाजवादी पार्टी नेपाल प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा रहेकोले त्यसका लागि संविधान संशोधन आवश्यक रहेको अध्यक्ष यादवले बताए ।