विराटनगर महानगरपालिकाको नो-पार्किङ्ग विरुद्ध व्यवसायी आन्दोलित

  • ... ५११  पटक हेरिएको

सोमबार, माघ १६, २०७९ समय : १३:५०:२३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर महानगरपालिकाले लागु गरेको नो–पार्किङ्गका विरुद्ध व्यवसायी आन्दोलित बनेको छ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रको मुख्य र सहायक सडक खण्डमा मोटरसाइकल र स्कुटी पार्किङ्गका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

सडकमा मोटरसाइकल र स्कुटी पार्किङ्गमा प्रतिबन्ध लगाएपछि कारोबार नै ठप्प भएको भन्दै व्यवसायी महानगरपालिका विरुद्ध आन्दोलित बनेको हो । सोमबार बिहान विराटनगरको शनि मन्दिर रोड, महाविर रोड र जलजला चोकदेखि ट्राफिक चोकसम्मका व्यवासयीहरु पसल बन्द गराउँदै सडक आन्दोलन गरे । व्यवसायीले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै मुख्य र सहायक सडक खण्डमा सवारी साधन पार्किङ्ग गर्न दिनुपर्ने माँग गरे ।

व्यवसायीक उकेश अग्रवालले सडक पार्किङ्गमा प्रतिबन्ध लगाएपछि व्यवसायीको कारोबार नै ठप्प बनेकोले व्यवसायीलाई गरी खान दिन विराटनगर महानगरपालिकाले पार्किङ्ग निषेध क्षेत्र हटाउनु पर्ने माँग गरे । आफुहरुको माँग पुरा नभएसम्म व्यवसायी महानगरपालिका विरुद्ध निरन्तर आन्दोलन गर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगर क्षेत्रमा हुने गरेको भिडभाडलाई व्यवस्थित गर्न विभिन्न १५ भन्दा बढि सडक खण्डलाई पार्किङ्ग निषेध क्षेत्र घोषणा गरिएकोले व्यवसायीहरु आन्दोलित हुँदैमा सडकबाट पार्किङ्ग निषेधित क्षेत्र हट्न नसक्ने बताए ।