पराजुलीको २७औं दण्डप्रणाम यात्रा

  • ब्रह्मदेव यादव, विराटनगर ५४०  पटक हेरिएको

बिहिबार, कार्तिक २२, २०८१ समय : १४:१९:४६ , ३ महिना अगाडि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले आस्था एवं उपासनाको ब्रत छठ पर्वको अवसरमा २७औं पटक दण्डप्रणाम यात्रा थालेका छन् । वैदिक सनातन हिन्दु राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि पराजुलीले २७औं पटकको दण्डप्रणाम यात्रा थालेका हुन् ।

विराटनगर–३ पोखरीयाको ठुलो मिल स्थित राधाकृष्ण शिव पञ्चायन मन्दिरबाट पराजुलीले बिहीबार २७औं पटक दण्डप्रणाम यात्रा थालेका छन् । बिहीबार बिहान १०ः३० बजे पराजुलीले दण्डप्रणाम यात्रा सुरु गरे । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी राजनैतिक सुरु गर्दादेखि पराजुलीले सुरु गरेको दण्डप्रणाम यात्रालाई अहिलेसम्म निरन्तरता दिई रहेका छन् ।

विद्यार्थीबाट राजनैतिक सुरु गरेका पराजुली महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको सभापति, विराटनगर महानगरपालिकाका मेयर भई सकेका छन्  । पराजुली यतिखेर कांग्रेस केन्द्रिय सदस्य र कोशी प्रदेश सभा सदस्य रहेका छन् । पराजुलीको दण्डप्रणाम यात्रामा उनका भतिज प्रमिश पराजुलीले साथ दिई रहेका छन् ।

प्रमिश पराजुली भीम पराजुलीका दाजु स्व. प्रेम पराजुलीका छोरा हुन् । प्रमिशको यो ९औं दण्डप्रणाम यात्रा हो । चर्चित नायिका दीपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्का बिहीबार केही समय पराजुलीको दण्डप्रणाम यात्रामा सहभागि भएका थिए ।

विराटनगर–३, पोखरीयाको ठुलो मिलको राधाकृष्ण शिव पञ्चायन मन्दिरबाट विराटनगर–१ स्थित परोपकार घाटको छठ पर्व स्थलको अढाई किलोमिटरको दुरी तय गर्न पराजुलीले साढे ५ घण्टाको यात्रा गर्नुपर्ने छ ।

बिहीबार अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर पराजुली घर फर्किसकेपछि उनको घरमा छठ पर्वको प्रसाद ग्रहण गर्न सबै क्षेत्र तह र तप्काका व्यक्तिहरूको बाक्लो संख्यामा उपस्थिति हुने गरेका छन् ।