प्रधानमन्त्री ओलीको सुरक्षामा कडाइ, सर्वसाधारणलाई सास्ती 

  • ब्रह्मदेव यादव, विराटनगर ४७९  पटक हेरिएको

सोमबार, कार्तिक २६, २०८१ समय : १३:१४:०४ , ३ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कडाइ हुँदा सोमबार विराटनगरका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । पूर्व राजाको सवारी हुँदा जुन प्रकारको सुरक्षा व्यवस्था तय गरिन्थ्यो । प्रधानमन्त्री ओलीको सुरक्षा व्यवस्था त्यो भन्दा कम थिएन । प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाट विराटनगर हुँदै धरान जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली धरान स्थित बिपि कोइराला विज्ञान तथा स्वास्थ्य प्रतिष्ठानमा आयोजना हुन गइरहेको दीक्षान्त समारोहमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेका हुन् । सोमबार १० बजेको बुद्ध एयरको विमानबाट काठमाडौंबाट विराटनगर उडेको प्रधानमन्त्री ओली विराटनगर विमानस्थलमा अवतरण गर्नुभन्दा ४५ मिनेट अगाडिदेखिनै सुरक्षा निकायले विमानस्थल आसपास सुरक्षा व्यवस्थामा कडाइ गरेका थिए ।

जसका कारण विराटनगरबाट काठमाडौँ उड्ने तयारीका साथ विमानस्थल पुग्न लागेका सर्वसाधारण आधा किलोमिटर टाढा नै आ–आफ्ना सवारी साधनबाट उत्रिएर आफै सामान बोकेर हिँड्दा विमानस्थल पुग्न सास्ती खप्नु पर्‍यो । दुई महिला सानो बच्चा सहित दुई वटा ब्याग बोकेर विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गरे ।

आफ्नो सुरक्षाको लागि अरुलाई सास्ती दिन पाइदैन भन्दै प्रधानमन्त्री ओली प्रति अपशब्द प्रयोग गरे । जवाफमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनताले चुनेको जनप्रतिनिधि आफ्नो सुरक्षा व्यवस्था आफै निर्धारण गर्दा प्रशासनिक निकाय कर्तव्यको मात्रै पालना गरेको बताए ।