अग्रवाल जातिको उत्पत्तिबारे विराटनगरमा अग्रभागवत कथा वाचन हुँदै

  • ब्रह्मदेव यादव, विराटनगर ७७२  पटक हेरिएको

सोमबार, पुष ०८, २०८१ समय : १३:३४:५० , २ महिना अगाडि

अग्रवाल जातिको उत्पत्तिबारे विराटनगरमा ३ दिने अग्रभागवत कथा वाचन हुने भएको छ । नेपाल अग्रवाल महिला मञ्च विराटनगरले जातीय उत्पत्तिबारे अग्रभागवत कथा वाचनको आयोजना गर्न लागेको छ ।

नेपाल अग्रवाल महिला मञ्च विराटनगरले सोमबार पत्रकार सम्मेलन गरेर यही पुस ११, १२ र १३ गते विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा भागवत कथा वाचन हुने जानकारी गराए । मञ्चका अध्यक्ष उमा चौधरीले दिनको २ बजेदेखि ५ बजेसम्म भागवत कथा वाचन हुने जानकारी गराइन ।

भारतको मुम्बईका कथा वाचक उज्जवल जी गर्गले अग्रवाल जातीको उत्पत्तिबारे अग्रभागवत कथा वाचन गर्नेछन् । त्रेतायुगमा श्रीरामको ३५औं पुस्ताबाट प्रारम्भ भएर द्वापर युगको अन्तसम्म जन्मेका अग्रवाल जातीको उत्पत्ति बारेमा भागवत कथाबाट व्याख्या गरिने छ ।

पत्रकार सम्मेलनमा नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले विराटनगरमा ५ हजार भन्दा बढि अग्रवाल समुदायका मानिसहरू बसोबास गरिरहेको र अन्य मारवाडी समुदायका मानिस भागवत कथा वाचनमा सहभागी हुने बताए । नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले युवापुस्तालाई जातीय उत्पत्तिबारे जानकारी गराउने उद्देश्यका साथ भागवत कथा वाचनको आयोजना गर्न लागेको बताए ।

नेपाल अग्रवाल महिला मञ्च विराटनगरले आयोजना गर्न लागेको ३ दिने अग्रभागवत कथा वाचनलाई नेपाल अग्रवाल सभा विराटनगर, नेपाल अग्रवाल युवा मञ्च विराटनगर र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरले सहयोग गर्नेछ । नेपालमा पहिलो पटक नेपाल अग्रवाल जातिको उत्पत्तिबारे भागवत कथा वाचन हुन गइरहेको छ ।