बुधवार विराटनगरमा इस्कोनको रथयात्रा

  • ब्रह्मदेव यादव, विराटनगर ११७५  पटक हेरिएको

सोमबार, फाल्गुण ०५, २०८१ समय : १४:१६:५८ , १ महिना अगाडि

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले २०८१ फागुन ७ गते बुधवार विराटनगरमा जगन्नाथ रथयात्रा निकालिने तयारी सुरु गरेको छ । विराटनगरमा निकालिन लागिएको रथयात्रा धरानबाट ल्याउन लागिएको हो । इस्कोनले विराटनगरमा निकालिन लागिएको यो दोस्रो रथयात्रा हो ।

यस अघि इस्कोनले २०८० फागुन ७ गते विराटनगरमा पहिलो रथ यात्रा निकालेका थिए । इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले सोमबार पत्रकार सम्मेलन गरेर दोस्रो जगन्नाथ रथयात्रामा ३ हजार ५ सय भन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहने जानकारी गराएका छन् ।

इस्कोन नेपालको मार्ग निर्देशक महाविष्णु स्वामी महाराजको उपस्थितिमा आयोजना गर्न लागिएको रथयात्रामा भारत, थाइल्यान्ड, रुस सहित विश्वका १० देशका ४० जनाभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ । कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्ट सहित सनातन हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न राजनैतिक दलका नेता र सांसदहरूको रथयात्रामा सहभागिता रहने छ ।

फागुन ७ गते बुधवार विराटनगर–९ जलजला रोड स्थित इस्कोनको कार्यालयबाट निकालिने रथयात्रा विराटनगर नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः इस्कोन कार्यालय अगाडि आयोजना हुने विशेष समारोहमा पुगेर समापन हुनेछ । रथयात्रा पछि इस्कोन विराटनगरले जलजला रोडमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेछ । एसिया, युरोपसहित विश्वका १० देश र नेपालका गरी ३ हजार ५ सय भन्दा बढी सनातन हिन्दु धर्मावलम्बीहरूको सांस्कृतिक कार्यक्रममा सहभागिता रहने छ ।

इस्कोन विराटनगरले रथयात्रापछि आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी हुने ५ हजार भक्तजनहरूका लागि बंगाली खिचडी, अचार, लालमोहन, दही, पापड र गुड पानी खुवाउने कार्यक्रम रहेको छ । भक्तजनलाई खुवाउने ५ हजार पिस लालमोहन इस्कोन विराटनगरले आफ्नै कार्यालयमा बनाएका छन् ।

इस्कोन विराटनगरका सचिव जोशीले रथयात्राको कार्यक्रम सम्पन्न गर्न १५ लाख भन्दा बढी रुपैयाँ खर्च हुने जानकारी गराए । इस्कोन गैर नाफा मुलक धार्मिक तथा आध्यात्मिक संस्था हो । भारतको पश्चिम राज्य बंगालमा इस्कोनको मुख्यालय रहेका छन् । २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको इस्कोनको यतिखेर देशको विभिन्न जिल्लामा शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।