गणतन्त्र फाल्न आन्दोलनको तयारी सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ७०७  पटक हेरिएको

बुधबार, फाल्गुण ०७, २०८१ समय : १७:१४:१२ , २ महिना अगाडि

नेपालमा गणतान्त्रिक व्यवस्थालाई फालेर हिन्दु राज्यको स्थापना र पूर्व राजसंस्था फर्काउने उद्देश्यका साथ आन्दोलनको तयारी सुरु भएको छ । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालको नेतृत्वमा आन्दोलन हुन लागेको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जनताको नाममा दिएको शुभकामना सन्देश मार्फत जनतालाई गणतन्त्रको विरुद्ध उभिन गरेको आव्हान सँगै आन्दोलनको तयारी सुरु भएको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाहको ७५औं जन्म दिनको अवसरमा बुधवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले गणतन्त्र फाल्न र पूर्व राजसंस्था फर्काउन आन्दोलन एक मात्र विकल्प रहेको सुझाव दिएका छन् ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहाल, संघर्ष समितिका सल्लाहकार एवं नेपाल विद्दत परिषदका केन्द्रि अध्यक्ष जितबहादुर अर्जेल, संघर्ष समितिका सल्लाहकार तथा नेपाल सद्भावना मञ्चका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री बद्रीप्रसाद मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्णु थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मोरङ अध्यक्ष कुमार ढकाल, संघर्ष समिति मोरङका वरिष्ठ उपाध्यक्ष दिनेश राउत, संघर्ष समिति मोरङका वरिष्ठ सचिव पुष्पराज दाहाल, प्राध्यापक इश्वरी गौतम, राष्ट्रवादी अभियन्ता शम्भुनाथ कार्की, राजकुमार कार्की, टिका सिटौलाले गणतन्त्र फाल्न एक मात्र विकल्प आन्दोलन रहेको बताए ।

आन्दोलनका एकीकृत राष्ट्रिय संघर्ष समिति मार्फत अगाडि बढ्न वक्ताहरूले सुझाव दिएका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहबाट जनताको नाममा दिएको गणतन्त्रको विकल्प खोज्ने बेला भइसक्यो भन्ने प्रस्तावलाई कार्यक्रमबाट पारित गराएका छन् ।