
- ब्रह्मदेव यादव, विराटनगर ९८९ पटक हेरिएको
शुक्रबार, फाल्गुण ०९, २०८१ समय : १७:२५:५६ , २ महिना अगाडि
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालको भन्सार विभागमा सरुवा भएको छ । २ वर्ष भन्दा बढी समयदेखि विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रूपमा कार्यरत ढकालको भन्सार विभागमा सरुवा भएको हो ।
फागुन २ गतेदेखि १० दिनको बिदामा रहेका प्रमुख भन्सार अधिकृत ढकाल भारतको नयाँ दिल्लीमा छोरीको उपचार गराइ रहेको बेला भन्सार विभागले बिहीबार साँझ उनको भन्सार विभागमा सरुवा गरिदिएको हो । नेपाल सरकारको अर्थ मन्त्रालयले डेढ वर्षमा प्रमुख भन्सार अधिकृतको सरुवा गर्ने गरेका छन् । यस अघि विराटनगर भन्सार कार्यालयका पूर्व प्रमुख भन्सार अधिकृत तारा सापकोटा राजश्व अपचलनको विषयमा १ वर्षमै अर्थ मन्त्रालयमा तानेर ढकाललाई प्रमुख भन्सार अधिकृतको जिम्मेवारी दिएका थिए । पूर्व प्रमुख भन्सार अधिकृत सापकोटाको बाँकी रहेको ६ महिनाको कार्यकाल ढकालले नै पुरा गरेका छन् ।
माघ २६ गते २ वर्ष कार्यकाल पुरा गरेका ढकालको कार्यशैली प्रति भन्सार विभागदेखि उद्योगी व्यवसायी असन्तुष्ट रहेका थिए । २ वर्षे कार्यकालको दौरान ढकालले कहिले पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेनन् । शतप्रतिशत राजश्व संकलन गर्दै आएको विराटनगर भन्सार कार्यालयले ढकालको कार्यकालमा भन्सार राजश्व असुली ४० प्रतिशतमा झरेको थियो ।
भारत सहित तेस्रो देशबाट विराटनगर भन्सार कार्यालय हुँदै नेपाल भित्रिने गरेको आयातको सामानमा सरकारी मापदण्ड बाहिर गएर ढकालले राजश्व असुलीको प्रक्रिया अविलम्बन गरेपछि उद्योगी व्यवसायी असन्तुष्ट रहेका थिए । विराटनगर भन्सार कार्यालयबाट आयात निर्यात गरिरहेका व्यवसायी विराटनगर भन्सार कार्यालय छोडेर अन्य भन्सार कार्यालयबाट आयात निर्यातको काम गरिरहेका छन् ।
व्यवसायी मात्रै होइन सुनसरी मोरङ औद्योगिक कोरिडोरमा उद्योग सञ्चालन गरिहरेका उद्योगी पनि विराटनगर भन्सार कार्यालय छोडेर अन्य भन्सार कार्यालयबाट औद्योगिक कच्चा पदार्थ आयात गर्न सुरु गरेका थिए । भन्सार विभागमा कार्यरत उमेश श्रेष्ठलाई विराटनगर भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतमा पदस्थापन गरेका छन् ।