पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा भव्य स्वागत

  • ब्रह्मदेव यादव, विराटनगर ४६२  पटक हेरिएको

आइतबार, फाल्गुण २५, २०८१ समय : १७:४६:१८ , २ महिना अगाडि

पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौँमा लाखौँ नेपाली जनताले भव्य रूपमा स्वागत गरेका छन् । शाह वंशको कुल मन्दिरको रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका पूर्व राजा शाह केही दिनको पोखरा बसाइँ पछि आइतबार काठमाडौँ आइपुगेका छन् ।

पूर्व राजा शाह समिट एयरको चार्टर्ड विमानबाट पोखराबाट काठमाडौँ आइपुगेका हुन् । काठमाडौँ आइपुगेका पूर्व राजा शाहलाई काठमाडौँ विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपति शमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

राप्रपा र राप्रपा नेपालका नेताहरूको स्वागत ग्रहण पछि विमानस्थलबाट बाहिरिएका पूर्व राजा शाहलाई लाखौँ नेपाली जनताले स्वागत गरेका छन् । काठमाडौँ विमानस्थलदेखि सितल निवास पुग्दासम्म लाखौँ नेपाली जनता काठमाडौँको सडकमा उत्रिएर पूर्व राजा शाहलाई स्वागत गरेका थिए ।

पूर्व राजा शाहलाई पुनः राजा बनाउनु पर्ने माग गर्दै केही दिनयता काठमाडौँ र काठमाडौँ बाहिरका नेपाली जनता आन्दोलित अवस्थामा छन् । पूर्व राजा शाहको पक्षमा बढ्दै गइरहेको जनलहर देखेर सत्ता सञ्चालन गरिरहेका नेपाली कांग्रेस र नेकपा एमाले सहित सरकार बाहिर रहेका नेकपा माओवादी केन्द्रका नेताहरू अतालिएका छन् ।