आन्तरिक राजश्व कार्यालय विराटनगरद्वारा ८३ प्रतिशतले कर असुली 

  • ब्रह्मदेव यादव, विराटनगर ४१३  पटक हेरिएको

बिहिबार, बैशाख ०४, २०८२ समय : १५:४६:०३ , २ हप्ता अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को चैत महिनासम्ममा ८३ प्रतिशतले कर असुली गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले आर्थिक वर्ष २०८१/०८२ को ९ महिना अर्थात् चैतसम्ममा ७ अर्ब ३४ करोड ७० लाख ३० हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ८ करोड ८१ लाख २२ हजार रुपैयाँ कर असुली भएको बताए ।

जुन लक्ष्यको तुलनामा ८३ प्रतिशतले कर असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को चैतसम्मको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ७.५० प्रतिशतले राजश्व असुलीमा वृद्धि गरेका छन् ।

कार्यालयले चैतसम्ममा आयकर तर्फ २ अर्ब, ८४ करोड ३५ लाख ७३ हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य राखेकोमा २ अर्ब १३ करोड २६ लाख ५८ हजार, मूल्य अभिवृद्धि कर तर्फ २ अर्ब ७ करोड ३४ लाख ५४ हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य राखेकोमा १ अर्ब ६३ करोड ४९ लाख ५८ हजार र अन्तशुल्क कर तर्फ २ अर्ब १६ करोड १९ लाख ४५ हजार रुपैयाँ कर असुली गर्ने लक्ष्य राखेकोमा २ अर्ब १ करोड २३ लाख ६२ हजार रुपैयाँ कर असुली भएको प्रमुख कर अधिकृत शाक्यले बताए ।

कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा १० अर्ब ७२ करोड रुपैयाँ कर असुली गर्ने लक्ष्य पाएको छ । चैतसम्ममा लक्ष्यको अनुपातमा ५७ प्रतिशतले राजश्व असुली गरेको छ ।