
- ब्रह्मदेव यादव, विराटनगर २७३ पटक हेरिएको
मंगलबार, बैशाख ३०, २०८२ समय : १४:०८:०५ , २१ घन्टा अगाडि
नेपाल सरकारले विराटनगर भन्सार कार्यालयमा निर्माण गरेको प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारको गृह मन्त्रालयले मंगलबार विराटनगर भन्सार कार्यालयमा एक समारोहको आयोजना गरेर प्रादेशिक आपतकालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका छन् । नेपाल सरकारको अधिनमा रहेको विराटनगर भन्सार कार्यालयको परिषरमा गृह मन्त्रालयले विश्व खाद्य कार्यक्रमको रकमबाट प्रादेशिक आपतकालीन गोदाम घर निर्माण गरेका छन् ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशमा आपतविपद परेको बेला प्रदेश सरकारले आवश्यक सामग्रीको लागि संघिय सरकार गुहार्ने परिपाटीको अन्त्यका लागि आपतकालीन गोदाम घर नै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघिय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्ने क्रममा गोदाम घर हस्तान्तरण भएको बताए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, कोशी प्रदेशका सांसद अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ लगायत सुरक्षा निकायका उच्च पद श्रेणीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।