
- ब्रह्ममदेव यादव, विराटनगर २९७ पटक हेरिएको
मंगलबार, बैशाख ३०, २०८२ समय : २२:३८:५५ , १० घन्टा अगाडि
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई भारतबाट नेपाल तर्फ भइरहेको तस्करी रोक्न विराटनगरका निजी क्षेत्रले सुझाव दिएका छन् । विराटनगरका दुई निजी क्षेत्रका संघ संस्था नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र मोरङ उद्योग व्यापार संघले मंगलबार विराटनगरमा गृहमन्त्री लेखकलाई स्वागत र सम्मान गर्दै अविलम्ब तस्करी रोक्न सुझाव दिए ।
नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने हो भने भारत सँग सिमाना जोडिएको नेपालको सबै भन्सार नाकामा कडाइ गर्न विराटनगरको निजी क्षेत्रले गृहमन्त्री लेखकलाई सुझाव दिए ।
गृहमन्त्री लेखकसँग आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनुपम राठी र मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं एशियन थाइफुड्स प्रा.लि.का निर्देशक महेश जाजुले एउटै स्वरमा भने: नेपाल सँग सिमाना जोडिएको भारतको जोगबनी बजार गुल्जार छ । तर विराटनगर बजार सुनसान छ । जोगबनीमा प्रत्येक महिना अरबौँ रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।
सामान किन्ने ग्राहक सबै नेपाली नै हो । जसका कारण नेपाल सरकारले प्रत्येक महिना प्राप्त गर्नु पर्ने २५ करोड रुपैयाँ राजश्व खेर गइरहेको छ । नेपाल सरकार र निजी क्षेत्र मिलेर कायम रहेको भन्सार राजश्व दररेट घटाएर र भन्सार नाकामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर तस्करी रोक्न सक्ने सुझाव दिए । तस्करी पूर्ण रूपमा बन्द भएको अवस्थामा नेपाल सरकारको राजश्वस्वतस्फूर्त रूपमा वृद्धि हुने र नेपालको आर्थिक क्षेत्र अगाडि बढ्ने विराटनगरको निजी क्षेत्रको भनाई छ ।
छलफल कार्यक्रममा नेपालसँग सिमाना जोडिएको भारतको जोगबनी बजारमा प्रत्येक दिन नेपालीले किनमेल गरिरहेको सामानको प्रत्यक्ष प्रशारण भिडियो गृहमन्त्री लेखकलाई देखाएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री लेखक बुधबार बिहान विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगरको निजी क्षेत्रले सुरक्षा बैठकमा सीमान्त क्षेत्रबाट भइरहेको तस्करी रोक्न सुरक्षाकर्मीलाई कडा निर्देशन जारी गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका छन् ।