
- ब्रह्मदेव यादव, विराटनगर २६३ पटक हेरिएको
बुधबार, जेठ ०१, २०८२ समय : १४:१३:२९ , ६ घन्टा अगाडि
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले एक महिना भित्र पूर्ण रूपमा तस्करी नियन्त्रण गर्न सुरक्षा प्रमुखलाई अल्टिमेटम दिएका छन् । एक महिना भित्र भारतबाट नेपाल तर्फ भइरहेको तस्करी पूर्ण रूपमा नियन्त्रणमा नआएको खण्डमा त्यसको जवाफदेही सुरक्षा प्रमुखले लिनुपर्ने गृहमन्त्री लेखकले बताए ।
नेपाल सरकारको गृह मन्त्रालय र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रण नआएको खण्डमा सुरक्षा प्रमुखदेखि ड्युटीमा तैनाथ सुरक्षाकर्मी कारवाहीको भागेदारी हुने बताए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगर र मोरङ उद्योग व्यापार संघ विराटनगरले मंगलबार विराटनगरमा गृहमन्त्री लेखकसँग छलफल गर्दै भारतबाट नेपाल तर्फ भइरहेको तस्करी रोक्न सुझाव दिएका थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं एशियन थाइफुड्स प्रा.लि.का निर्देशक महेश जाजुले नेपालसँग सिमाना जोडिएको भारतको जोगबनी बजारमा मासिक रूपमा अरबौँ रुपैयाँ बराबरको कारोबार हुने र जसको कारण नेपाल सरकारले २५ करोड रुपैयाँ राजश्व गुमाइ रहेको विवरण सहितको भिडियो मन्त्री लेखकलाई देखाएका थिए ।
गृहमन्त्री लेखकले सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा तस्करीसँग अपराध जोडिएकोले तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न सुरक्षा निकायलाई सचेत गराएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल प्रहरीका प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका कोशी पृतनापति पवन अधिकारी सुरक्षा गोष्ठीमा सहभागी थिए । कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गोष्ठीमा सहभागी थिए ।