डाक्टर परिवारमा डा. सितल यादवद्वारा बुहारी डा. निता यादव पीडित 

  • ब्रह्मदेव यादव, विराटनगर ८८२  पटक हेरिएको

बिहिबार, जेठ ०२, २०८२ समय : १८:१९:३२ , २ हप्ता अगाडि

डाक्टर परिवारमा एक डाक्टरद्वारा अर्को डाक्टर पीडित । त्यसमा पनि आफ्नै ससुरा डाक्टरद्वारा डाक्टर बुहारी पीडित रहेको घटनाले विराटनगरको स्वास्थ्य क्षेत्र तातेको छ । विराटनगरका वरिष्ठ फिजिसियन डा. सितल यादवले बुहारी डा. निता यादवलाई मानसिक यातना दिइरहेको रहस्य बाहिरिएको छ ।

डा. निता यादव डा. सितल यादवका जेठा छोरा स्व. सुशिल यादवका श्रीमती हुन् । सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा असिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत डा. निता यादवले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफू आफ्नै ससुरा डा. सितल यादवद्वारा मानसिक यातना खेपी रहेको रहस्य सार्वजनिक गरेका छन् । माइती पक्षका आमा ललिता यादवको सहयोगमा डा. निता यादवले पत्रकार सम्मेलन गरेका थिए ।

डा. निता यादव एमबिबिएस अध्ययन रहेको बेला २०६८ सालमा डा. सितल यादवका जेठा छोरा डा. सुशिल यादवसँग विवाह भएको थियो । डा. सुशिल यादव सिजोफेनिया नामक रोगबाट पीडित रहेका थिए । २०८१ साल जेठ ३१ गते डा. सुशिल यादवको मृत्यु भइसकेको छ ।

आफ्नो छोरा बिरामी रहेको र आफैले छोराको सिजोफेनिया रोगको नियमित उपचार गरिरहेका डा. सितल यादवले छोरा डा. सुशिल यादवको  रोग लुकाएर सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३ का डा. निता यादवसँग विवाह गरेका थिए । डा. सितल यादवले २०५८ सालमा बिरामी छोरा डा. सुशिल यादवलाई पैत्रिक सम्पत्तीबाट बुढीगंगा गाउँपालिकाको वडा नं. १ र ३ मा रहेको विभिन्न ६ कित्ताबाट ४ बिघा जग्गा अंश दिएका थिए ।

छोरा जीवित रहेकै बेला बुहारी निता यादवले २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा श्रीमान् डा. सुशिल यादवसँग अंश पाउँ भन्ने मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अदालतले २०८० साल बैशाख ७ गते श्रीमानको आधा अंश श्रीमती डा. निता यादवलाई दिने फैसला गरेका थिए । उच्च अदालत विराटनगरको २०८१ साल साउनमा उक्त फैसलाको निर्णय डा. निता यादवको पक्षमा सुनाइएको थियो ।

उच्च अदालत विराटनगरको फैसला आउनु भन्दा अघि नै २०८१ जेठ ३१ गते डा. सुशिल यादवको मृत्यु भइसकेको ले उनको नाममा रहेको जग्गा डा. निता यादवको नाममा आइसकेको छ । तर सितल यादवले स्व. छोरा डा. सुशिल यादवको नामको जग्गा बुहारी डा. निता यादवको नाममा आउन नदिन अनेक प्रकारको प्रपन्च रचिरहेका छन् ।

डा. सितल यादव र उनका कान्छा छोरा डा. सुनिल यादवले स्व. डा. सुशिल यादवको नामको जग्गा डा. निता यादवको नाममा आउन नदिन स्थानीय तहदेखि मालपोत र नापी कार्यालय विराटनगरमा मुद्दा माथि मुद्दा हालेर डा. निता यादव माथि मानसिक यातना दिने अवस्था श्रृजना गरेका छन् । बुढिगंगा गाउँपालिकाको वडा कार्यालयदेखि मालपोत र नापी कार्यालय विराटनगरमा शक्ति र अर्थको प्रयोगमा कर्मचारीलाई आफुतिर आकर्षित गर्दै डा. निता यादवको सहज र सजिलो गरी हुने काममा वाधाअर्चन खडा गरेका छन् ।

डा. सितल यादवको जेठो छोरा डा. सुशिल यादव बिरामी रहेको जानकार हुँदा हुँदै आफूसँग किन विवाह गराएको बुहारी डा. निता यादवले सासु परिनिता यादवसँग प्रश्न गर्दा सासु बुहारी बिचको सम्बन्ध बिग्रिएको थियो । डा. सितल यादव र उनका श्रीमती परिनिता यादवले कान्छो छोरा डा. सुनिल यादवसँग मिलेर बुहारी डा. निता यादव माथि अन्याय र अत्याचार गरिरहेका छन् । डा. सितल यादवको छोराको विवाह डा. निता यादवसँग भएको १४ वर्ष भएको छ ।

जसमध्ये १ वर्ष अगाडि छोरा डा. सुशिल यादवको मृत्यु भइसकेको छ । १३ वर्षको अवधिमा डा. सितल यादव र उनका श्रीमती परिनिता यादवले छोरा बुहारीलाई एकै ठाउँ बस्न घरमा कहिले पनि बेग्लै कोठा उपलब्ध गराएन । जसका कारण डा. निता यादव धरानमा कार्यरत रहेको स्थानमै गएर डा. सुशिल यादव श्रीमती सँग भेटघाट गर्ने गरेका थिए । डा. सितल यादव र उनका कान्छा छोरा डा. सुनिल यादवले विराटनगरमा विराटनगर सिटी अस्पताल सञ्चालन गरिरहेका छन् ।