
- ब्रह्मदेव यादव, विराटनगर ४२५ पटक हेरिएको
आइतबार, जेठ ०४, २०८२ समय : १६:०२:५३ , ४ हप्ता अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यही जेठ १५ गतेदेखि काठमाडौँमा सुरु हुन लागेको सडक जनआन्दोलनमा २ लाख जनता उतारिने तयारी भइरहेको जानकारी दिएको छ । आन्दोलन सुरु भएको पहिलो दिन २ लाख जनता सडकमा उतारिने र माँग पुरा नभएसम्म निरन्तर चलिरहने आन्दोलनमा जनताको संख्या बढ्ने अध्यक्ष थापाले जानकारी दिए ।
आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले काठमाडौँको सडक जनआन्दोलनमा धेरै भन्दा धेरै संख्यामा जनतालाई सहभागिता गराउन आफू प्रचार–प्रसारका लागि जिल्ला दौडाहामा रहेको बताए । आइतबार विराटनगरमा पत्रकारसँग भेटघाट गरेर अध्यक्ष थापा सुनसरीको कार्यक्रममा सहभागी भएका थिए ।
भ्रष्ट शासन प्रणाली विरुद्ध काठमाडौँको सडकमा जनता उतारेर सडकबाटै जनआन्दोलनलाई सफल बनाउने उद्देश्यका साथ ४४ दल घटक आन्दोलनको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सडक जनआन्दोलनको मुख्य घटक राजनीतिक दल रहेको अध्यक्ष थापाले बताए ।
नेपालको संविधान २०७२ लाई संशोधन गरेर राजसंस्थालाई पुनर्स्थापना गरेको खण्डमा जनआन्दोलन फिर्ता हुन सक्ने अध्यक्ष थापाले बताए । हिन्दु राज्य र राजसंस्थाको स्थापना, प्रदेश खारेज गरेर केन्द्र र स्थानीय तह गरी दुई तहको सरकार, भुईँ मान्छेलाई राहत प्रदान र सुशासन एवं समृद्धिका लक्ष्य जनआन्दोलनको बटम लाइन रहेको अध्यक्ष थापाले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्षद्वय बल्लभप्रसाद दाहाल र तेजकुमार कुरुङबाङ, कोशी प्रदेश अध्यक्ष माधव आचार्य पत्रकार सम्मेलनमा सहभागी थिए ।