
- ब्रह्मदेव यादव, विराटनगर ५६० पटक हेरिएको
सोमबार, जेठ ०५, २०८२ समय : १७:१२:३३ , ४ हप्ता अगाडि
कोशी प्रदेश सरकारले विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको छ । कोशी प्रदेश सरकारले सोमबार कोशी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेर विराटनगरलाई कोशी प्रदेश स्तरीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्घोष गर्दै अगाडि बढेका छन् ।
जसका लागि कोशी प्रदेश सरकारले संघिय सरकारसँग सहकार्य गर्ने वाचा गरेका छन् । संघिय सरकारले विराटनगर विमानस्थललाई कोशी प्रदेश स्तरीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जग्गाको विस्तार कार्य अगाडि बढाएका थिए । कोशी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले संघिय सरकारसँग सहकार्य गरेर विराटनगर विमानस्थललाई कोशी प्रदेश स्तरीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गाको खरिद कार्य अगाडि बढाएका थिए ।
संघिय सरकार, कोशी प्रदेश सरकार र स्थानीय सरकार विराटनगर महानगरपालिका विराटनगर विमानस्थललाई कोशी प्रदेश स्तरीय विमानस्थल बनाउने साझेदार निकाय रहेका थिए । विराटनगर विमानस्थल आसपासको जग्गा रोक्का गरेर जग्गा खरिद पक्रिया अगाडि बढी सकेको अवस्थामा र सो क्षेत्रमा घर जग्गा रहेका व्यक्तिहरूको मुआब्जा दिने काम सुरु भइसकेको अवस्थामा संघिय सरकार विराटनगरलाई प्रादेशिक विमानस्थल बनाउने कार्यबाट एक्कासी हात झिकेका थिए ।
साथै सरकारले घर जग्गा बिक्री वितरणमा रोक लगाई सकेको निर्णय फिर्ता लिर्दै सर्वसाधारणको घर जग्गा फुकुवा गरेका थिए । यतीखेर विराटनगर विमानस्थलको जग्गा बाहेक आसपासमा रहेका सर्वसाधारणको घर जग्गा खरिद विक्रीको काम भइरहेको छ ।विराटनगरलाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यबाट निकै नै पछाडि परिसकेको अवस्थामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत विराटनगर विमानस्थललाई पुनः कोशी प्रदेश स्तरीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अगाडी बढेका छन् ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ का लागि बजेट विनियोजन गर्दा अब विराटनगरलाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने गरी बजेट विनियोजन गर्नेछ । विराटनगरको निजी क्षेत्रले विराटनगर विमानस्थललाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी कोशी प्रदेश सरकार अगाडि बढेकोमा खुशी व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष वरिष्ठ उद्योगी राजेन्द्र राउतले विराटनगर विमानस्थललाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी कोशी प्रदेश सरकार अगाडि बढेकोमा निजी क्षेत्र उत्साहित रहेको बताए ।
विराटनगर विमानस्थलको भौतिक संरचनाको निर्माण कार्य पुरा भइसकेको छ । १५०० मिटरको रनवेलाई २५०० देखि ३००० मिटरको रनवे बनाउन धेरै समय नलाग्ने भएकोले चाँडै नै विराटनगर प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आस पलाएको अध्यक्ष राउतले बताए ।
कोशी प्रदेशका प्रदेश प्रमुख पुर्शराम खापुङले सोमबार कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक नीति तथा कार्यक्रम वाचन गरेका थिए ।