अब रानी नाकाबाट तस्करी हुन सक्दैन–डिआइजी कार्की

  • ब्रह्मदेव यादव, विराटनगर ५५१  पटक हेरिएको

सोमबार, जेठ १२, २०८२ समय : १८:०८:४२ , १ हप्ता अगाडि

नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले अब रानी नाकाबाट तस्करी हुन नसक्ने बताएका छन् । १५ दिन अगाडी कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिआइजी कार्कीले सोमबार सञ्चारकर्मी सँग भेटघाट गर्दै रानी नाकाबाट पूर्ण रूपमा बन्द भइसकेको तस्करी अब कसैले चाहेर पनि खुकुलो हुन नसक्ने बताए ।

संघिय सरकारका गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशन पछि यही जेठ २ गतेदेखि रानी नाका पूर्ण रूपमा ठप्प छ । विराटनगरका उद्योगी व्यवसायीको आग्रह बमोजिम गृहमन्त्री लेखकले जेठ १ गते विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा रानी नाकाबाट भइरहेको तस्करी पूर्ण रूपमा नियन्त्रणमा आउन नसके सुरक्षाको जिम्मेवारी लिएका प्रहरी अधिकृत माथि गृह मन्त्रालय एक्सनमा जाने घोषणा गरेका थिए ।

गृहमन्त्री लेखकको घोषणापछि जेठ २ गतेदेखि रानी नाका हुँदै किनमेलका लागि भारतको जोगबनी जाने नेपाली माथि प्रहरीले कडाइ गरेका छन् । किनमेलका लागि जोगबनी जाने नेपाली आवश्यकता अनुसारको सामान खरिद गर्न सक्ने अवस्था नरहेकोले रित्तै हात फर्किनु पर्ने अवस्था छ ।

सञ्चारकर्मी सँग डिआइजी कार्कीले भने– तस्करी नियन्त्रण देशकौ समस्या हो । यतिखेर रानी नाका पूर्ण रूपमा ठप्प छ । र तस्करी रोकिएको छ । अलिअलि सामान ल्याउन छुट गरिदियो भने फेरी पनि तस्करी मौलाउन सक्छ । र तस्करीको लाइन सञ्चालन गरेको आरोप प्रहरी माथि लाग्न सक्छ । अब रानी नाका खुकुलो हुने अवस्था छैन । नेपाल भारतको सीमान्त क्षेत्रमा मानव साङ्लो उभ्याएर पनि खुल्ला सिमानाका रोक्न सकिँदैन ।

यद्यपि प्रहरीले सबै काम एक्लै गर्न सक्दैन । यस विषयमा छलफल र बहसको आवश्यकता रहेको डिआइजी कार्कीले बताए । भारत लागुऔषधको सेन्ट्रल प्वाइन्ट बनेको छ । प्रत्येक दिन सयौं युवा रानी नाका हुँदै लागुऔषध सेवन गर्न जोगबनी पुगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रहेको सीमान्त क्षेत्रको ईलाका प्रहरी कार्यालय रानीमा एकै दिन लागुऔषध सेवन कर्ता १ सय १५ जनासम्म पक्राउ परेका छन् । लागुऔषध सेवन बिरामी नै हो । लागुऔषध  सेवन कर्ता जुन स्थानीय तहको मतदाता हो । त्यही स्थानीय तहले आफ्ना मतदाता बिरामीको उपचार गर्नुपर्ने डिआइजी कार्कीको भनाइ छ ।