
- ब्रह्मदेव यादव, विराटनगर २९२ पटक हेरिएको
सोमबार, जेठ १९, २०८२ समय : १७:२७:४५ , २ दिन अगाडि
संघीय सांसद योगेन्द्र मण्डलले २ अर्ब रुपैयाँ लगानी गरेर जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालनमा ल्याएको छ । १ अर्ब ३० करोड जीवन विकास सामुदायिक संस्थाको र ४२ करोड माछापुच्छरे बैंकको ऋणबाट निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याइएको यो मुनाफारहित नेपालको पहिलो अस्पताल हो ।
विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कटहरी गाउँपालिकाको वडा नं. २ स्थित हल्दीबारीमा संघिय सांसद मण्डलले २ अर्ब रुपैयाँ लगानी गरेर निर्माण गरेको २ सय बेडको जीवन विकास समूदायिक तथा टेक्निकल एजुकेशन फाउण्डेशनको जेठ २४ गते शनिवार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मोरङ क्षेत्र नं. ५ बाट निर्वाचित स्वतन्त्र संघिय सांसद एवं जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष मण्डलले सोमबार पत्रकार सम्मेलन गरेर अस्पतालबाट प्रदान गर्न लागेको सेवा सुविधाको बारेमा जानकारी गराए । कार्डियोलोजिष्ट र न्यूरो बाहेक स्वास्थ्य क्षेत्रमा उपलब्ध सम्पूर्ण रोगको उपचार सेवा अस्पतालबाट प्रदान गर्न लागिएको मण्डलले बताए ।
अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, ओपीडी सेवा, नर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरविन्दबाट सबै किसिमको अप्रेशन सेवा, बाल रोग उपचार सेवा, डाइलासिस, आइ.सी.यू., एन.आई.सी.यू., सी.सी.यू., एच.डी.सी.यू., पी.आई.,सी.यू./नर्सरी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे आधुनिक मेशिनबाट सबै किसिमको ल्याब सेवा, नाक कान घाँटीको उपचार सेवा, आँखा जाँच लगायत सबै किसिमको सेवा प्रवाह गरिरहेको अध्यक्ष मण्डलले बताए ।
सरकारी स्वामित्वको विराटनगर स्थित कोशी अस्पतालबाट प्रारम्भिक चरणको उपचार सेवा लिएर डिस्चार्ज भएका बिरामी थप उपचार सेवाका लागि नर्सिङ होमदेखि महँगा अस्पतालमा पुगेर उपचार सेवा लिँदा ती अस्पताले लिइरहेको रकम भन्दा जीवन विकास सामुदायिक अस्पतालको उपचार सेवा सस्तो रहेको मण्डलले बताए । नर्सिङ होम र महँगा अस्पताल भन्दा जीवन विकास सामुदायिक अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको मण्डलले बताए ।
अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सक सहित २ सय जना जनशक्ति परिचालन भइरहेको र त्यसको मासिक खर्च १ करोड ५२ लाख रुपैयाँ व्यहोरी रहेको मण्डलले बताए । २०८२ वैशाख महिनामा अस्पतालले चिकित्सक सहित कर्मचारीको मासिक तलब बापत १ करोड ५२ लाख रुपैयाँ व्यहोरिएको बताए ।
पत्रकार सम्मेलनमा संघिय सांसद एवं अस्पतालका अध्यक्ष मण्डलले भनेः जीवन विकास सामुदायिक अस्पतालको उद्देश्य स्वास्थ्य सेवा प्रवाह मात्र नभएर यो एउटा नयाँ सामाजिक अभियान पनि हो । जसले सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेछ । स्वास्थ्य सबैको अधिकार हो । भन्ने भावना र मर्मलाई आत्मसाथ गर्दै आम नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा न्यूनतम शुल्कमा प्रवाह गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।