
- ब्रह्मदेव यादव, विराटनगर ५३७ पटक हेरिएको
मंगलबार, जेठ २०, २०८२ समय : १८:३०:२० , २ दिन अगाडि
विराटनगर महानगरपालिकाका पूर्व उपमेयर भुराज राईले वडा नं. १३ का सचिव सुनिल दाहालसँग दुर्व्यवहार गरेका छन् । २०५४ सालमा नेकपा एमालेको तर्फबाट रमेश चन्द्र पौडेल मेयर रहेको बेला भुराज राई विराटनगर उपमहानगरपालिकाका उपमेयर रहेका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी नेपालमा लामो समय सम्म काम गरिसकेका पूर्व उपमेयर राई पुनः एमालेका फर्किएका छन् । मंगलबार नाम संशोधन गराउन विराटनगर महानगरपालिकाको वडा नं. १३ कार्यालय पुगेका एमाले नेता एवं पूर्व उपमेयर राईले भने बमोजिम वडा सचिव दाहालले काम नगरिदिएपछि राईले दाहालसँग दुर्व्यवहार गरेका थिए ।
विराटनगर महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले सचिव दाहाल सँग दुर्व्यवहार भएको पुष्टि गर्दै भनेः उपमेयर राईले नाम संशोधन गराउन १३ नं. वडा कार्यालय जानु भएको थियो । सचिव दाहालले १ वर्ष भित्र मात्र नाम संशोधन हुन सक्ने कानुनी व्यवस्था रहेकोले ३/४ वर्ष पुरानो नाम संशोधनको काम गर्न नमिल्ने जवाफ दिएपछि राईले दाहालसँग दुर्व्यवहार गरेका थिए ।
एमाले नेता एवं पूर्व उपमेयर राईले चिरफार डटकम सँग कुरा गर्दै सचिव दाहालसँग भनाभन भएको बताए । भनाभन पछि सचिव दाहालसँग हात मिलाएर फर्किएको पूर्व उपमेयर राईले बताए ।