
- ब्रह्मदेव यादव, विराटनगर ३१९ पटक हेरिएको
बुधबार, जेठ २१, २०८२ समय : १६:२९:३२ , २ दिन अगाडि
यही जेठ २३ र २४ गते विराटनगरमा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन हुन लागेको छ । स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको दुई पटक राष्ट्रिय सम्मेलन भइसकेको अवस्थामा उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन विराटनगरमा हुन गइरहेको छ । जसको आयोजना विराटनगर महानगरपालिकाले गरेको छ । राष्ट्रिय सम्मेलनमा देशभरीबाट २ सय ९१ जना उप–प्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहने छ ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट विनियोजन गर्दा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च हुने र जसमा १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले उपलब्ध गराएको बताए ।
विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको कार्यकाल सकिन केही समय बाँकी रहेको अवस्थामा आगामी कार्यकालका लागि निर्वाचित भएर आउने उप–प्रमुख तथा उपाध्यक्षहरूलाई काम गर्न सजिलो हुने गरी राष्ट्रिय सम्मेलनले संघियता कार्यान्वयन, स्थानीय सरकार सञ्चालन र न्यायिक समितिले सम्पादन गरिरहेको कामको बारेमा छलफल हुने बताए ।
विराटनगर स्थित विरेन्द्र सभागृहमा चल्ने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने विराटनगर महानगरपालिकाका उप–प्रमुख कार्कीले बताए । जेठ २३ र २४ गरी २ दिनसम्म विराटनगरमा चल्ने स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने जनप्रतिनिधिका लागि विराटनगरमा २ सय ९१ वटा कोठा बुक गरिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल पत्रकार सम्मेलनमा सहभागी थिए ।