
- ब्रह्मदेव यादव, विराटनगर ३१३ पटक हेरिएको
बिहिबार, जेठ २२, २०८२ समय : १३:२८:२१ , १ दिन अगाडि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद डा. शेखर कोइरालाको प्रभाव राजनीतिकमा घट्न थालेको छ । राज्यको नीति निर्माण गर्दादेखि नेपाली कांग्रेस भित्र डा. कोइरालाको सुझाव कार्यान्वयन हुँदैन । डा. कोइरालाको सुझावलाई कांग्रेस भित्र अवहेलना गर्न थालिएको कांग्रेस निकट समाचार सूत्रले जानकारी गराएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट विनियोजन गर्दा विराटनगर विमानस्थललाई यथास्थितिमा राखेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ । विराटनगर र झापा विमानस्थलको धावन मार्ग सामान १ हजार ५ सय घन मिटरको रहेको छ ।
कोशी प्रदेशको राजधानी त्यसमा पनि पुरानो विराटनगर विमानस्थललाई यथास्थितिमा राखेर झापाको भद्रपुर विमानस्थलको क्षमता विस्तार गर्ने गरी बजेट विनियोजन गर्दा डा. कोइराला एक शब्द पनि बोलेनन् । नेपाली कांग्रेसको केन्द्रीय सभापति बन्ने तयारी गरिरहेका डा. कोइरालाले विराटनगरलाई विकासमा पछाडि धकेल्दा त्यसको किन विरोध गरेनन् सर्वत्र चर्चा र बहसको विषय बनेको छ ।
कांग्रेस भित्रदेखि लिएर डा. कोइरालाको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ का जनताले समेत प्रश्न उठान गरेका छन् । तर डा. कोइराला कांग्रेसका कार्यकर्ता र आफ्नै क्षेत्रका मतदाताहरूले उठान गरेको प्रश्नको जवाफ दिन आनाकानी गरिरहेको छ । संघिय सरकारले बजेट निर्माण गर्दा खेरी डा. कोइरालाले कांग्रेस देखि राज्यको नीति निर्माण तथा बजेट निर्माण गर्ने पक्षधर सँग विराटनगर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाउने गरी बजेट विनियोजन गर्न सुझाव दिएका थिए । तर डा. कोइरालाको सुझावलाई बजेट निर्माण पक्षधरले फोहोरको डस्वीनमा फालिदिए ।
डा. कोइराला मात्रै होइन मोरङबाट कांग्रेसको राजनीति गर्ने केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल, भीम पराजुली, पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजालहरुको पनि केही चलेन । कांग्रेस भित्र यतिखेर पूर्व महामन्त्री कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माको हालीमुहाली छ । सिटौला र शर्माले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग तालमेल गरेर विराटनगरलाई यथास्थितिमा राखेर झापाको भद्रपुर विमानस्थललाई क्षमता विस्तार गर्ने गरी बजेट विनियोजन गर्न सफल भएका छन् । उनीहरूले झापाको भद्रपुरलाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी बजेट छुट्याएका छन् ।