१० वर्षभित्र विश्वको १०० देशमा पियोर टिसु पेपर निर्यात गर्छु– पारस लुनिया

  • ब्रह्मदेव यादव, विराटनगर ५६०  पटक हेरिएको

आइतबार, जेठ २५, २०८२ समय : १३:३७:१५ , ३ दिन अगाडि

विराटनगरका युवा उद्यमी पारस लुनियाले १० वर्ष भित्र विश्वको १ सय देशमा पियोर टिसु पेपर निर्यात गर्ने घोषणा गरेका छन् । अरिहन्त ग्रुप अन्तर्गतको अरिहन्त अटो कोरोग्रेसन लिमिटेडद्वारा उत्पादित पियोर टिसु पेपर नेपालको एक मात्र उत्पादन हो ।

कम्पनीले शनिबार विराटनगरमा आयोजना गरेको पियोर टिसु पेपरका अधिकृत विक्रेतासँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रबन्ध निर्देशक पारस लुनियाले १० वर्ष भित्र विश्वको १ सय देशमा पियोर टिसु पेपर निर्यात गर्ने तयारीका साथ काम भइरहेको बताए ।

कम्पनीले आयोजना गरेको अधिकृत बिक्रेताहरू सँगको भेटघाट तथा छलफल कार्यक्रममा नेपाल भरीका अधिकृत बिक्रेताहरूको सहभागिता रहेको थियो । अधिकृत विक्रेतासँगको भेटघाट तथा छलफल कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक लुनियाले भने– विश्वको १ सय देशमा पियोर टिसु पेपरलाई पुर्‍याउने हाम्रो तयारी छ ।

यसका साथै नेपालको एक मात्र उत्पादन पियोर टिसु पेपरलाई घर–घरमा पुर्‍याउने हाम्रो तयारी छ । जसरी सडक पेटिर चौक चौकमा ठेलामा आलु, प्याज र तरकारी विक्री हुन्छ । ठिक त्यही मोडेल अनुसार हामीले पियोर टिसु पेपरलाई घर घरमा पुर्‍याउने तयारी छ ।

कम्पनीले हात पुछने, मुख पुछने र शौचालय प्रयोजनका लागि पियोर टिसु पेपर उत्पादन गरिरहेका छन् । यो विशुद्ध नेपाली उत्पादन हो । उद्योगले आफै कच्चा पदार्थ उत्पादन गर्ने र त्यहाँबाट पियोर टिसु पेपर उत्पादन गरिरहेका छन् । विदेशी टिसु पेपरको तुलनामा नेपाली उत्पादन पियोर टिसु पेपर सस्तो र गुणस्तरीय छ ।

१ सय रुपैयाँमा हात र मुख पुछने ३ डब्बा पियोर टिसु पेपर पाइन्छ । तीन तहकै सरकारको सरकारी कार्यालय अटो मोबाइल्सको ग्यारेज, होटेल रेस्टुरेन्ट र घर घरमा पियोर टिसु पेपर पुर्‍याउने हाम्रो योजना छ । जुन योजना र लक्ष्यलाई पुरा गर्न अधिकृतदेखि खुद्रा विक्रेताले कडा मेहनत र परिश्रम गर्नुपर्ने प्रबन्ध निर्देशक लुनियाको भनाई छ ।

७ वर्ष अगाडि कम्पनीले सुनसरीको इटहरी उपमहानगरपालिका स्थित खनारमा उद्योगको प्लान्ट स्थापना गरेका थिए । २५ करोडको लागतमा स्थापना गरिएको प्लान्ट कोभिड–१९ महामारीको बेला २ वर्ष ठप्प रहयो । त्यसपछि लुनियाले पियोर टिसु पेपर उद्योगलाई बन्द गर्ने निर्णयमा पुगेका थिए । त्यही बेला अमेरिकाबाट अध्ययन पुरा गरेर नेपाल फर्केका पारस लुनियाका जेठो दाजु ग्रिस लुनियाका छोरा जयस लुनियाले उद्योग चलाउँछु भने अठोटका साथ अगाडि बढे ।

३ वर्षदेखि सञ्चालनमा रहेको उद्योगको उत्पादन पियोर टिसु पेपरलाई स्थापित गराएर यहाँसम्म ल्याउन जयस लुनियाको ठुलो देन छ । शनिबार अधिकृत विक्रेताको भेटघाट तथा छलफल कार्यक्रममा कम्पनीले जयस लुनियालाई उत्कृष्ट अवार्ड प्रदान गरेर सम्मान गरे । कम्पनीका प्रबन्ध निर्देशक पारस लुनियाले कम्पनीका निर्देशक जयस लुनियालाई अवार्ड प्रदान गरेका थिए । जयस लुनिया सहित उत्कृष्ट कर्मचारीलाई कम्पनीले अवार्ड प्रदान गरे ।

कार्यक्रममा अधिकृत विक्रेतालाई समेत अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक ग्रिस लुनिया, पारस लुनिया, निर्देशक जयस लुनियाले कहिले पनि गलत काम नगरी नेपाललाई अगाडि बढाउने गरी कम्पनीले कडा मेहनत र लगनशीलताका साथ इमानदारी पूर्वक काम गरिरहेको बताए ।