अस्पताल उद्घाटनको नाममा योगेन्द्र मण्डलको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओली हेरेको हेरै

  • ब्रह्मदेव यादव, विराटनगर ४४०  पटक हेरिएको

सोमबार, जेठ २६, २०८२ समय : १८:११:१९ , २ दिन अगाडि

संघीय सांसद योगेन्द्र मण्डलले अस्पताल उद्घाटनको नाममा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीका अगाडि शक्ति प्रदर्शन गरेका छन् । संघीय सांसद मण्डलले प्रधानमन्त्री ओलीका अगाडि शक्ति प्रदर्शन गरिरहँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेपालका नेताहरु मञ्चमा उपस्थित थिए । संघीय सांसद मण्डलको शक्ति प्रदर्शन देखेर प्रधानमन्त्री ओली हेरेको हेरै भए ।

मोरङमा एमालेलाई बलियो बनाउने हो भने मण्डललाई पुनः पार्टीमा भित्र्याउनु पर्ने आवश्यकता महसुस गरेर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई पार्टी प्रवेशको समय मिलाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मण्डल एमालेमै सक्रिय थिए । गएको संसदीय निर्वाचनमा एमालेले मण्डललाई मोरङ क्षेत्र नं. ५ बाट उम्मेदवार नबनाएपछि उनी एमालेसँग चिढिए । र स्वतन्त्र उम्मेदवारी दिएर सान्दार मत साथ संघीय सांसदमा निर्वाचित भए ।

तिनै संघीय सांसद मण्डलले विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङको कटहरी गाउँपालिकाको वडा नं. २ स्थित हल्दीबारीमा २ अर्ब रुपैयाँको लागतमा २ सय सैयाँको जीवन विकास सामुदायिक अस्पताल निर्माण गरेका छन् ।

अस्पतालको उद्घाटन जेठ २४ गते शनिबार प्रधानमन्त्री ओलीले गरेका हुन् । संघीय सांसद मण्डलले जीवन विकास सामुदायिक अस्पताल, जीवन विकास लघुवित्त वित्तीय संस्था, जीवन विकास दुग्ध डेरीसहित डेढ दर्जनभन्दा बढी सामुदायिक संस्था संचालन गरिरहेका छन् । उनले संचालन गरिरहेको सामुदायिक संस्थाबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी लाखौँ जनताले लाभ प्राप्त गरिरहेका छन् । सांसद मण्डलले निर्माण गरेको अस्पतालको उद्घाटन समारोहमा जीवन विकास सामुदायिक संस्थासँग आबद्ध जनता उतारेका थिए ।

जीवन विकास सामुदायिक अस्पताल उद्घाटन समारोहमा मण्डलको शक्ति प्रदर्शन देखेर प्रधानमन्त्री ओलीको होस हवास उडेको छ । नेपाल भारतको सीमान्त क्षेत्र सँग जोडिएको मोरङ क्षेत्र नं. ५ मधेशी बाहुल्य निर्वाचन क्षेत्र हो । जहाँ ९० प्रतिशतभन्दा बढी मधेशी समुदायका मतदाता रहेका छन् । २०६२/०६३ को मधेश विद्रोहपछि पहिलो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र त्यस पछिको उपनिर्वाचनमा सोही पार्टीका केन्द्रीय सदस्य जयराम यादव निर्वाचित भएका थिए ।

दोस्रो संविधान सभाको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल निर्वाचित भएका थिए । तेस्रो संसदीय निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अमृत अर्याललाई पराजित गरेर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल निर्वाचित भएका थिए ।

चौथो संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व संघीय सांसद शिवकुमार मण्डललाई पराजित गरेर योगेन्द्र मण्डल स्वतन्त्र रूपमा निर्वाचित भएका छन् । र यतिखेर मोरङ क्षेत्र नं. ५ मा संघीय सांसद योगेन्द्र मण्डलको बोलवाला छ ।