
- ब्रह्मदेव यादव, विराटनगर ४०२ पटक हेरिएको
मंगलबार, जेठ २७, २०८२ समय : १७:३१:०२ , २ दिन अगाडि
भारतबाट नेपालमा भइरहेको अवैध तस्करीको लाइन एक महिनादेखि पूर्ण रूपमा ठप्प छ । तर पनि नेपाली बजारमा अवैध भारतीय सामानको बिक्रीमा वृद्धि भइरहेको छ । भारतसँग सिमाना जोडिएको नेपालको मोरङ र सुनसरी जिल्लाको नेपाली बजारमा अवैध भारतीय सामानको बिक्रीले एकाधिकार कायम गरिरहेको छ । यतिखेर विवाहको समय भएकोले विराटनगर सहित मोरङको ग्रामीण क्षेत्रको बजारमा प्रत्येक दिन करोडौँ रुपैयाँ बराबरको भारतीय सामानको बिक्री भइरहेको छ ।
नेपाली बजारमा यसरी बिक्री भइरहेको सामान भारतबाट अवैध रूपमा भित्रिने गरेको कारोबारीको भनाइ छ । एक महिना अगाडिसम्म भारतबाट नेपालमा अवैध रूपमा मोटो परिमाणमा भारतीय लत्ताकपडादेखि खाद्यान्न सामग्री भित्रिएका थिए । नेपाली बजारमा प्रायजसो सबै कारोबारीको गोदाममा मोटो रकम बराबरको लत्ताकपडा र खाद्यान्न सामग्री रहेका छन् ।
कारोबारीले गोदाममा रहेको सामानलाई नेपाली बजारको चलनचल्तीको मूल्य अनुसार महँगोमा बिक्री गरिरहेका छन् । जुन सामान भारतीय बजारको तुलनामा दुई गुणा महँगो रहेको उपभोक्ताको भनाइ छ । विराटनगरका कपडा व्यवसायी बब्लु अग्रवालको गोदाममा करोडौँ मूल्य बारबरको अवैध कपडा रहेका छन् । बषौंदेखि कपडा तस्करीमा संलग्न अग्रवालको विराटनगरको बरगाछी स्थित विभिन्न गोदाममा मोटो परिमाणमा भारतीय कपडा रहेका छन् ।
अग्रवालले विराटनगरको बरगाछी चौक नजिक घर र कोठा भाडामा लिएर तस्करीको कपडा स्टक गरेर राखेका छन् । र यतिखेर पूर्ण रूपमा तस्करीको लाइन ठप्प रहेको बेला दुई गुणा बढी मूल्यमा कपडा बिक्री गरिरहेका छन् । विराटनगरको गुद्री बजारमा एक दर्जनको हाराहारीमा ठुला ठुला किराना पसल सञ्चालनमा रहेका छन् । र ती सबै किराना पसलको गोदाममा मोटो परिमाणमा अवैध भारतीय खाद्यान्न सामग्री स्टक गरेर राखेका छन् ।
विराटनगर–९ स्थित शंकर साहको शंकर किराना पसलको गोदाममा करोडौँ मूल्य बारबरको तस्करीको भारतीय समान रहेको समाचार सूत्रले जानकारी गराएको छ । यसरी महँगोमा बिक्री गरिएको सामानको कारोबारीले बिल नदिने र उपभोक्ताले बिल नखोजेकै कारण सरकारले प्राप्त गर्नुपर्ने मोटो रकम राजश्व गुमिरहेको छ । यस तर्फ तीन तहकै सरकारको ध्यान जान जरुरी छ ।