
- चिरफार डटकम, विराटनगर ३२० पटक हेरिएको
बुधबार, जेठ २८, २०८२ समय : १३:४५:१२ , १ दिन अगाडि
विराटनगर महानगरपालिकामा निर्माण कार्य पुरा भएको १७ वर्षपछि खानेपानी ट्याङ्कीको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा १७ वर्ष अगाडी निर्माण कार्य पुरा भएको खानेपानी ट्याङ्कीको मंगलबार संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरेका छन् ।
विराटनगर–१४ स्थित जतुवामा लक्ष्मी नारायण मन्दिरको हाता भित्र २०६५ सालमा साढे ४ करोड रुपैयाँको लागतमा साढे आठ धुर जग्गामा खानेपानी ट्याङ्की निर्माण गरिएको थियो । खानेपानी ट्याङ्की १७ वर्षको अवधिमा जीर्ण र काम नलाग्ने अवस्थामा पुगेका छ । र पुनः मर्मत सम्भार गरेर मात्रै खानेपानी ट्याङ्कीलाई सञ्चालनमा ल्याउन सकिन्छ । जसको पुनः मोटो रकम खर्च गर्नुपर्ने अवस्था श्रृजना भएको छ ।
विराटनगर महानगरपालिकाको वडा नं. ८, १० र १४ का वडावासीलाई लक्षित गरेर खानेपानी ट्याङ्की निर्माण गरिएको थियो । वडावासीको घर घरमा खानेपानी पुर्याउनका लागि २ करोड भन्दा बढी रकम खर्च गरेर जमिन मुनी बिच्छाएको पाइप विराटनगर महानगरपालिकाले एडिबीको सहयोगमा सडक विस्तारको काम गर्दा भत्किसकेका छन् । र पुनः सडक खनेर खानेपानीको पाइप बिच्छाउन मोटो रकम खर्च गर्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवको दवावमा खानेपानी कार्यालय विराटनगरका प्रमुख सन्तोष रौनियारले हचुवाको भरमा कार्यक्रम तय गरेर खानेपानी ट्याङ्कीको उद्घाटन गरेका छन् । लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले खानेपानी ट्याङ्कीको उद्घाटन पछि खानेपानी ट्याङ्कीलाई सञ्चालन गर्न संघीय सरकार अन्तर्गतको खानेपानी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ ।