सुन–चाँदी व्यवसायीको आन्दोलनलाई मोरङ उद्योग व्यापार संघको समर्थन

  • ब्रह्मदेव यादव, विराटनगर ३४६  पटक हेरिएको

शुक्रबार, जेठ ३०, २०८२ समय : १४:३३:३५ , २२ घन्टा अगाडि

नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङको आन्दोलनलाई मोरङ उद्योग व्यापार संघ विराटनगरले समर्थन गरेका छन् । उद्योगी व्यवसायीको सबै भन्दा पुरानो संस्था मोरङ उद्योग व्यापार संघले समर्थन गरेपछि नेपाल सुन–चाँदी व्यवसायी संघको आन्दोलन उचाइमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरले जारी राखेको आन्दोलनलाई मोरङ उद्योग व्यापार संघ विराटनगरका उपाध्यक्ष विकास बेगवानीले समर्थन गरेका हुन् ।

सरकारले सुन–चाँदी व्यवसायीको माँगलाई सम्बोधन नगरेसम्म जारी आन्दोलनलाई अझै उचाईमा पुर्‍याउन मोरङ उद्योग व्यापार संघको साथ, सहयोग र समर्थन रहने उपाध्यक्ष बेगवानीले उद्घोष गरेका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको गहनामा लागु गरेको अव्यवहारिक कर नीति खारेज नगरेसम्म आन्दोलन जारी रहने बताए । व्यवसायीले बिहीबार र शुक्रबार २ दिन पसल बन्द राखेका छन् । र आफ्ना माँगका बारेमा सङ्घीय सरकारदेखि कोशी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरले सुनको गहनामा लागु गरेको २ प्रतिशत बिलासी कर र हिरा जवाहरात जडान गरिएको सुनको गहनामा लागु गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माँग गरेका छन् । संघले भारत सरह नेपालमा समानान्तर कर नीति लागु हुनुपर्ने र सुनको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न बेग्लै ऐन, नियम र नीति बनाउनु पर्ने माँग गरेका छन् ।

सुन आयातमा सरकारले १० प्रतिशत भन्सार राजश्व दर काय गरेका छन् । यस बाहेक सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको गहनाको हरेक खरिद बिक्रीमा २ प्रतिशत बिलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि (भ्याट) कर थप गरेका छन् । भारतमा सुनमा ६ प्रतिशत कर छ । तर नेपालमा थप १५ प्रतिशत कर लागु भएकोले व्यवसायी भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने र जसको कारण भारतबाट नेपालमा सुनका गहना तस्करी हुँदा व्यवसायी पलायन हुन सक्ने जिकिर गरेका छन् ।

नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष शशिभुषण साह, संघका सल्लाहकार जुगलकिशोर राठी र विकास बेगवानी, संघका महासचिव अमलेश अग्रवाल, नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेशका कोषाध्यक्ष मनोज अग्रवाल र प्रदेश सदस्य महेशकुमार स्वणकारको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।