आरती स्ट्रिप्स र अरिहन्त अटोकोरोगेशनलाई उद्योग संगठन मोरङको अवार्ड

  • ब्रह्मदेव यादव, विराटनगर ३८१  पटक हेरिएको

शुक्रबार, जेठ ३०, २०८२ समय : २०:३२:५६ , २० घन्टा अगाडि

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालन भइरहेको दुई ठुला उद्योगलाई अवार्ड प्रदान गरेको छ । उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको ५२औं वार्षिक साधारण सभामा आरती स्ट्रिप्स प्रा.लि. र अरिहन्त अटोकोरोगेशन लिमिटेडलाई उत्कृष्ट निकासी उद्योग घोषणा गर्दै अवार्ड प्रदान गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आरती स्ट्रिप्स प्रा.लि.का उपमहाप्रबन्धक जीवन तिम्सिना र अरिहन्त अटोकोरोगेशन लि. का निर्देशक जयस लुनियाँलाई अवार्ड प्रदान गरेका हुन् । आरती स्ट्रीप्स प्रा.लि. सादा तथा रंगीन जस्तापाता तथा कर्कटपाता र पाइप उत्पादन गर्ने उद्योग हो ।

आरती स्ट्रिप्स प्रा.लि. ले आर्थिक वर्ष २०८०/०८१ मा १४ सय ५४ करोड रुपैयाँ बराबरको उत्पादित सामग्री बिक्री गरेका थिए । जसमध्ये उद्योगले ७ सय ३७ करोड रुपैयाँ बराबरको उत्पादित सामग्री निकासी गरेका थिए । उद्योगले आर्थिक वर्ष २०८१/०८२ मा २ हजार करोड रुपैयाँ बराबरको उत्पादित सामग्री बिक्री गर्ने लक्ष्य राखेको छ । तर अघोषित विद्युत् लोडसेडिङका कारण उद्योगले  लक्ष्य भेटाउन सक्ने अवस्था कम छ । प्रत्येक दिन उद्योगले ८ देखि १० घण्टासम्म लोडसेडिङको मार खेपी रहेको छ ।

आरती स्ट्रिप्स प्रा.लि. ले मोटो रकम लगानी गरेर डन्डी उद्योग स्थापना गर्ने तयारी गरिरहेको अवस्थामा नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट उद्योगमैत्री बनाउन नसक्दा उद्योग डन्डी उत्पादनबाट पछि हटेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालन भइरहेको अरिहन्त अटोकोरोगेशन लि. पेपर उत्पादन गर्ने उद्योग हो ।

उद्योगले पेपर, काटुन, लेमिनेट, पियोर टिसु पेपर र डुप्लेक्स बोर्ड उत्पादन गरेर निकासी गरिरहेका छन् । ३ वर्ष यता सबै भन्दा बढि पेपर निकासी गर्ने उद्योगको सूचीमा रहेको अरिहन्त अटोकोरोगेशनलाई उद्योग संगठन मोरङले अवार्ड प्रदान गरेको हो ।