विराटनगरमा कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता हुँदै

  • चिरफार डटकम, विराटनगर १८८  पटक हेरिएको

बिहिबार, आषाढ ०५, २०८२ समय : १४:२३:०० , ६ घन्टा अगाडि

असार ७ गतेदेखि विराटनगरमा कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता हुन लागेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको सहयोगमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले योग खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको छ । योग खेलकुद प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने र यसरी खर्च हुने सम्पूर्ण रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले बेहोर्ने छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार ७ गते शनिबार विराटनगरको होटेल मनास्लु ईनमा योग खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज खेलकुद प्रतियोगिताको सह–आयोजक रहेका छन् ।

प्रतियोगिताको मुख्य इभेन्ट फ्रिस्टाइल योग आसन रहेको छ । जुन आसन अन्तर्गत अगाडि झुक्ने, पछाडी झुक्ने, घुमाउरो, हात र खुट्टाको बिचको सन्तुलनका विधाहरु रहने छन् ।

प्रतियोगितामा ५० जना प्रतियोगिहरुको सहभागिता रहने छ । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न ६ सय जना दर्शक तथा स्वयमसेवकहरु उपस्थित रहने छन् । ३ उमेर समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको छ । प्रतियोगितामा प्रथम हुने पुरुषलाई मिस्टर योगी र महिलालाई मिस योगी घोषणा गरिने छ ।

प्रतियोगिताको बारेमा जानकारी गराउने उद्देश्यले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेल, सचिव कृष्णप्रसाद पोखरेल, महिला पतञ्जली योग समिति मोरङका अध्यक्ष एवं कांग्रेस नेतृ सुची चौधरी, उपाध्यक्ष सारदा थापा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङका वरिष्ठ कविराज निरीक्षक बैजनाथ साह सहभागी थिए ।